भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ ।

गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनु भएको हो । आगलागीमा परिषद् अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामाग्री पनि जलेका थिए ।

अपांगहरूका सहायक समाग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाणले बताउनु भयो ।

‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौ,’ गृहमन्त्री खाणले भन्नुभयो ।

उहाँले प्राधिकरणले उपलब्ध गराउने सहायक सामाग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिनुभयो ।

अवलोकनका क्रममा उहाँले आगलागी भएको स्टोर, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि सहायक सामग्री निर्माण गर्ने स्थान र कुन अपांगलाई के सहायक सामग्री आवश्यक पर्छ भनेर जाच गर्ने स्थानको समेत अवलोकन गर्नुभयो ।

गृहमनत्री खाणलाई कोषका सभापति डेकराज भट्टराईले आगलागी, कोष र सहायक सामग्री निर्माणबारे जानकारी गराउनुभएको थियो ।

उहाँसँग गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत अवलोकन गर्न पुग्नुभएको थियो ।

स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्