गभर्नर अधिकारीविरुद्ध बालुवाटारमा प्रदर्शन


काठमाडौँ।

गभर्नर महाप्रसाद अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शन गरिएको छ । अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।