आजदेखि घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण

वर्गीकरण नगरे ठाउँको ठाउँ कारबाही



आइतबार र बुधबार कुहिने र मंगलबार नकुहिने फोहोर विसर्जन गर्न आग्रह गरेको छ । यो दिन महानगरपालिकाले तोकेको वडामा लागु हुनेछ । त्यस्तै अर्को वडामा सोमबार र बिहीबार कुहिने र शुक्रबार नकुहिने फोहोर लिन सवारीसाधन घरघरमा आउनेछ ।

काठमाडौं । 

महानगरवासीले आज आइतबारबाट कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले सो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । फोहोर नछुट्याए तत्काल ५ सय रुपियाँ जरिवाना गर्ने व्यवस्था गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले महानगरको निर्णय कार्यान्वयन नगर्ने जो कोहीलाई कडा कारबाही गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘जरिवाना नतिरे कानुनअनुसार कारबाही गर्नेछौं ।’ उहाँका अनुसार फोहोर बोक्ने सवारीसाधनमा महानगर प्रहरीले अनुगन गर्नेछ । फोहोर नछुट्याएको जानकारी पाए तत्काल चिट काट्ने व्यवस्था मिलाइएको छ ।

फोहोर बोक्ने गाडी बिहान ६ देखि ८ बजेसम्म घरघरमा पुग्नेछ । तोकिएकै समयमा फोहोर विसर्जन गर्ने व्यवस्था छ ।महानगरको नियम पालना गर्न अपिल गर्दै मेयर बालेन्द्र साह हिजो शनिबार वातावरण व्यवस्थापन विभागका टोलीसहित इन्द्रचोक, असनलगायत भित्री सहर पुग्नुभएको थियो । त्यस क्रममा उहाँले तालिकाअनुसार फोहोर व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।

महानगरले स्रोतमा नै फोहोर नमिसाउने अभियान लेखेको ब्यानरसहित उहाँले घरदैलो अभियान शुरू गर्नुभएको थियो । उहाँले महानगरवासीको सहयोगबिना फोहोर व्यवस्थापन असम्भव रहेको आग्रह गर्दै नियम पालना गर्न अपिल गर्नुभयो । साहले स्थानीयलाई हाते पर्चा देखाउँदै तोकिएको समय र तोकिएको दिनमा फोहोर विसर्जन गर्न आग्रह गर्नुभएको थियो । वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गरी आइतबार र बुधबार कुहिने र मंगलबार नकुहिने फोहोर विसर्जन गर्न आग्रह गरेको छ । यो दिन महानगरपालिकाले तोकेको वडामा लागु हुनेछ ।

फोहोर बोक्ने गाडी बिहान

त्यस्तै, अर्को वडामा सोमबार र बिहीबार कुहिने र शुक्रबार नकुहिने फोहोर लिन सवारीसाधन घरघरमा आउनेछ । तोकिएबमोजिम नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ । विभागका ल्यान्डफिल साइट इन्जिनियर सरकारदीप श्रेष्ठले महानगरको आग्रहलाई पालना गराई छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले आजबाट सबैलाई नियमको बारेमा जानकारी गराएका छौं, सो नियम लागु नगरे कारबाही गर्नेछौं ।’ महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो ।

काठमाडौं वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले तोकेको दिनअनुसार वर्गीकरण गरेर फोहोर संकलन गर्ने व्यवस्था अनिवार्य गरेका छौं, ऐन र नियमले दिएको विषय कार्यान्वयन नगरे कारबाही गर्नेछांै ।’

करिब एक वर्षअघि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले महानगरपालिकालाई दुई फरक प्रकृतिका फोहोर छुट्टयाएर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आजबाट फरक दिन फरक प्रकृतिको फोहोर संकलन गर्ने विभागको भनाइ छ ।

फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बारे जैविक अर्थात् कुहिने र अजैविक अर्थात् नकुहिने फोहोर संकलन गर्ने जनाएको छ । सर्वोच्च अदालतले १० वर्षअघि वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गर्ने व्यवस्था गर्न कामपालाई निर्देशनात्मक आदेश दिएको थियो ।

आदेशपछि केही महिना फरकबार दुई प्रकारको फोहोर जम्मा गरी व्यवस्थापन गर्ने व्यवस्था शुरू गरेको थियो । त्यो व्यवस्था धेरै नटिकेपछि आलोचना खेपेको कामपाले फेरि सोही व्यवस्था लागु गरेको हो ।सूचनामा कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा २२ को १ र २, फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार वैशाख १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण गर्न आह्वान गरेको थियो । सोही सूचनाका आधारमा कामपाले आजबाट फोहोर वर्गीकरण गरी संकलन गर्न लागेको हो ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासी, शहरी विकास मन्त्रालयलगायत सरोकारवाला निकायले फोहोरको पृथकीकरण गरेर मात्र बिसर्जन गर्र्नुपर्ने जनाएपछि महानगरले यो व्यवस्था शुरू गरेको हो । कामपाले लागु गरेको यो व्यवस्था उपत्यकाका १८ सहित ३ जिल्लाका स्थानीय तहलाई लागु हुने भएको छ । कामपाले दुई किसिमका भाँडा प्रयोग गरी फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

उपमेयर डंगोलले अभियान आरम्भ गर्ने

काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोलले फोहोर वर्गीकरण अभियानमा आरम्भ गर्नुहुने भएको छ । कामपा वडा नम्बर २१ लगनस्थित स्थानीयको घरमा वर्गीकरण गरिएको फोहोरको अवलोकन गरी अभियानको शुभारम्भ गर्नुहुने भएको छ ।

कामपा वातावरण विभागका इन्जिनिर सरकारदीप श्रेष्ठले उपमेयर डंगोलले घरबाट संकलन भएको फोहोर वर्गीकरण भए नभएको अवलोकन गरेपछि मात्रै गाडीमा लोड गर्ने व्यवस्था गरेको छ । सोअनुसार आज लगनमा कुहिने फोहोर मात्र संकलन गर्ने गरी उपमेयरले अनुगमन गर्नुहुनेछ ।

विभागका प्रमुख सरिता राईले उपमेयरले सो वडामा अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उपमेयरज्यूले लगनमा अनुगमन गर्नुहुनेछ भने अन्य वडामा विभागीय प्रमुख, इन्जिनियर र महानगर प्रहरीको टोलीले अनुगमन गर्नेछ । प्रहरीसँग जरिवाना गराउने चिटसँगै रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्