मानिस र वन्यजन्तुबीचको द्वन्द्व समाधानका लागि गृहमन्त्री खाण र प्रजिअहरुबीच छलफल

0
Shares

काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गर्नुभएको छ ।

गृहमन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग बन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गर्नुभएको हो ।

झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्वन्धित निकायका प्रमुखसँग कुराकानी गर्नुभएको हो ।

बर्दियाको मधुवन नगरपालिका वडा नं १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन् । गत जेठमा बाघले पटक पटक आक्रमण गरेपछि मधुवन नगरपालिकाको वडा नं २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्थासमेत आएको थियो ।

त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर बन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो । त्यो तारबार कसरी र कुन निकायको मार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिनुभयो ।

‘जंगली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्रीज्यूले टेलिफोनमा कुराकानी गर्नुभएको थियो । मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताए,’ प्रजिअ बस्तोलाले बताउनु भयो । वनक्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाउन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्टाउन केन्द्रमा माग गरिएको प्रजिअ बास्तोलाले बताउनुभयो ।

यता झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन् । दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन । प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ ।

गृहमन्त्री खाणले वनसचिव कडेलसँग पनि जंगली जनाबर बस्तीमा पस्न नदिन के के गरेर समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गर्नुभएको हो ।
गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो घटना कसरी हुन गयो र यस्ता घटना हुन नदिन कसरी अगाडि बढ्नुपर्छ भनेर कुराकानी गर्नुभएको हो । त्यहाँ पनि नागरिक र बन्यजन्तुबीचको दूरी बढाउने र आक्रमणको अवस्था कम गर्दै समस्याको समाधान निकाल्ने तयारीमा सरकार लागिरहेको छ ।