‘त्रिवि शिक्षण अस्पतालको तत्परता प्रशंसनीय छ’



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीको उपचारमा देखाएको तत्परता र लगनशीलता प्रशंसायोग्य भएको बताए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “बिरामीको चाप र दक्ष जनशक्तिको कमीबीच शिक्षण अस्पतालले देखाएको सक्रियता सबैका लागि उदाहरणीय छ ।”

दक्षिण एशियामै राम्रो उपचार गृह र चिकित्सा विधाको उत्कृष्ट तालिम तथा अनुसन्धान केन्द्रका रूपमा टिचिङ अस्पतालले विशिष्ट पहिचान बनाएको बताउँदै प्राडा बाँस्कोटाले आगामी दिनमा अस्पतालले समयसापेक्ष गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । “अस्पतालको उन्नती र प्रगतीसँग डाक्टर, नर्स र कर्मचारीको भविष्य जोडिएको छ, त्यसैले अस्पताललाई अगाडि बढाउन मेहनत, लगनशील र व्यवसायी भएर लागौँ”, उनले भने । प्रा.डा. शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले न्यून स्रोत र साधनका बीच कोरोना महामारीको समयसमेतमा टिचिङ अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको बताए । उनले अस्पतालले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको उल्लेख गरे ।

वि.सं. २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा ३०० शैयामार्फत सेवा प्रदान गरे पनि हाल उक्त सेवालाई विस्तार गरी एक हजार शैयामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

उक्त अस्पतालले पछिल्लो समय पेडियाट्रिक सर्जरी, पेडियाट्रिक आइसियु, सुरेश वाग्ले क्यान्सर सेन्टरलगायत सेवा विस्तार गरेको छ । त्रिभुवन शिक्षण अस्पतालले चालू आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।

अस्पतालले पछिल्लो एक वर्षमा उल्लेखनीय कार्य गरे पनि अक्सिजन ग्यासको नियमित आपूर्ति, अस्पतालको क्यान्टिन सञ्चालन, आउट सोर्स जनशक्ति, वृद्धि भएको तलब भत्ताका लागि आवश्यक स्रोत परिचालन, पार्किङ व्यवस्था, सार्वजनिक शौचालयलगायत व्यवस्था चुनौतीपूर्ण भएको कार्यकारी निर्देशक प्रा.डा. काफ्लेले बताए ।

अस्पतालकी नर्सिङ इन्चार्ज कविता देवकोटाले कोरोना महामारीको समयमा आफ्नो जीवन र परिवारको प्रवाह नगरी निरन्तर बिरामीको सेवामा खटिएको भन्दै अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा अस्पतालले थप विशिष्टिकृत सेवा प्रवाह गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अस्पतालको ४०औँ वार्षिकोत्सवका अवसरमा हिजो बिहिबार अस्पतालले निरन्तर २५ वर्षभन्दा बढी समय सेवा गर्ने ७५ जना कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरेको थियो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० भन्दाबढी स्वास्थ्य विधामा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्