त्रि-विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग



काठमाडौं । ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ । उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि आज दबाबमूलक कार्यक्रम गरेको थियो ।

समाजमा आबद्ध युवाले सभामा छिर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरी तितरवितर बनाएको थियो । समाजको नेतृत्व गर्दै कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली समृद्धि र स्वाभिमानका आधारस्तम्भ सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयक पारित गर्न उदासीन देखिएको बताए ।

उनले प्रदेशसभाको आज बसेको दशौँ अधिवेशनको बैठकमा तीन विधेयकका विषयमा सरकारको जवाफ माग गरे । सरकारले आफैले वि.सं. २०७७ कात्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

विश्वविद्यालयको विधेयक सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ । ढाई वर्षसम्म पर्वतीय विश्वविद्यालय समितिमै अड्केको छ ।

प्रदेशसभा सदस्य भण्डारी आफैँले विसं २०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैरसरकारी विधेयक हुन् । यसमा सिञ्जा सभ्यता विधेयक सभामा टेबुल भएर छलफलका छ महिनादेखि समितिमै रहेको जनाइएको छ । (((

प्रतिक्रिया दिनुहोस्