वैज्ञानिक महावीर पुनका साथ अन्तरक्रिया



कठमाडौं । मदरल्याण्ड नेपाल, स्काइलेक्स इमिग्रेसन सर्भिस र एभरेष्ट कुजिनले नेपालका सुप्रसिद्ध वैज्ञानिक तथा समाजसेवी महावीर पुनसँग अमेरिकाको बे–एरियामा रहेका नेपालीसँग अन्तरक्रिया गराउने भएको छ ।

अगस्ट १ तारिकका दिन मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म सान जोसेस्थित एभरेष्ट कुजिन रेष्टुरामा अन्तरक्रिया हुने सो रेष्टुराका सञ्चालक तथा समाजसेवी अनिल पाण्डेले जानकारी दिनुभयो ।

वैज्ञानिक पुन नेपाल सरकारको सेवा–सुविधाबाट वञ्चित लाखौं नेपालीको सेवामा समर्पित साधु व्यक्तित्व हुनुहुन्छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा निर्देशक डा. पुन नेपालको दुर्गम भागसम्म इन्टरनेट सेवा पु¥याउने र नेपाली स्रोत–साधनको प्रयोग गरेर आधुनिक वस्तुको उत्पादन गरी आयात प्रतिस्थापन गरी मुलुकको राष्ट्रिय अर्थतन्त्र सबल बनाउने अभियानका कारण प्रसिद्ध हुनुहुन्छ ।

डा. पुन एशियाको नोभेल पुरस्कार पनि भनिने रामोन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित हुनुहुन्छ । फिलिपिन्सबाट प्रदान गरिने सो पुरस्कार उहाँलाई दुर्गम नेपालको गाउँले जनतालाई इन्टरनेटको माध्यमद्वारा विश्व जगत्मा ताररहित प्रविधिको माध्यमद्वारा सम्पर्कमा ल्याएका कारण दिइएको हो ।

नेब्रास्का विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका डा. पुन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर र सबै प्रकारका भौतिक सुख–सुविधा त्यागेर सिंगो समाजका लागि समर्पित भएका व्यक्तित्व हुनुहुन्छ ।

‘अमेरिकामा आफ्नो श्रमसीप लगानी गर्ने तर मन र मस्तिष्कमा सधैं नेपाल र नेपालीको उन्नतिको चिन्ता गर्ने हामी नेपालीका लागि डा. पुनसँग भेट गर्न मात्र पाउनु पनि असीम उर्जाको विषय हो’ पाण्डेले भन्नुभयो– अन्तरक्रियामा सहभागी हुनेहरुले उहाँबाट के सुन्ने, के जानकारी लिने सोचले आउनुहोला ।

एभरेष्ट कुजिन–सान जोसेले अन्तरक्रियामा सहभागी हुन आउने डा. पुनका प्रशंसकहरुलाई निशुल्क नेपाली भोजन गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्