शिर मेमोरियल अस्पतालले गर्यो कैदी बन्दीको स्वास्थ्य परीक्षण



काभ्रे।

काभ्रेपलाञ्चोक कारागार कार्यालयमा रहेका २ सय ४० जना कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शिर मेमोरियल अस्पताल बनेपाले कैदी बन्दीहरुको स्वास्थ्य परीक्षणका लागि सहयोग गरेको थियो भने रिपल नेपालले कैदी बन्दीहरुलाई हाईजेनिक किट उपलब्ध गराएको थियो ।

‘२०२१ को डिसेम्वरमा कारागारमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य परीक्षणका क्रममा सुगर र छाला सम्वन्धी समस्या फेला परेको थियो’–शिर मेमोरियल अस्पताल बनेपाकी मेडिकल डाईरेक्टर डा. एन्जेलिना बस्नेतले भन्नुभयो–‘त्यहि आधारमा यो पटकको शिविरमा छाला तथा सुगर रोग विशेषज्ञका साथै अन्य रोगसँग सम्वन्धित चिकित्सकहरु र औषधी उपलब्ध गराउने उदेश्यले यो शिविर आयोजना गरिएको हो ।’ शिविरमा मेडिसिन डाक्टर डा.एन्जेलिना बस्नेत, छाला रोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. सुजन पौड्याल, मानसिक रोग विशेषज्ञ डाक्टर डा.जोयासन राथारस लगायत २२ जना जनशक्तिको सहभागिता रहेको थियो । चिकित्सक ८, फार्मेसी ३, ल्याव २, फिजियो १ नर्स ३ जना सहभागी थिए ।

शिविरमा फिजियो थेरापी, सुगर प्रेसर भएका विरामीहरुका लागि पनि थप परामर्श दिईएको थियो । डा. बस्नेतले कारागारमा रहेका बन्दीहरुको स्वास्थ्यलाई ध्यान दिदै नियमित शिविर तथा उपचारमा सहयोग गर्ने बताउनु भयो ।

कारागार कार्यालय काभ्रेका जेलर गायत्री अधिकारीले विरामी भए पछि मात्रै उपचार पाउने कैदी बन्दीका लागि यो अवसर भएको बताउनु भयो । कारागार भित्र रहेका अधिकांश कैदी बन्दीहरुमा छाला सम्वन्धी, सुगर, मानसिक रोग, थाईराईड, मुटुरोग लगायतका ४० जनाले नियमित औषधी सेवन गर्दै आएका छन् ।

रियल नेपालले दुई पिस साबुन, टाबेल, व्रस, मञ्जन र नङकट भएको हाईजेनिक किट २ सय ५० थान उपलब्ध गराएको रियल नेपालका माधव बाँनियाले बताए । शिविरमा ६५ हजार बराबरको औषधी, ४१ हजार बराबरको लन्च प्याक उपलब्ध गराईएको छ । जेलर गायत्री अधिकारीले जेललाई सुधार गृहको रुपमा अघि बढाईएको बताए ।

प्रतिक्रिया दिनुहोस्