राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी च्याम्पियन



काठमाडौं । 

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पा-यो । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो ।

५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त ग-यो । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल ग¥यो ।

४ कीर्तिमान बने

प्रतियोगितामा चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचेर प्रत्येक कीर्तिमानमा पाउने १५ हजारको दरले कूल ४५ हजार रकम प्राप्त गरिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई ओझेलमा पारेकी हुन् ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै, ४ गुणा १ सय मिटर रिलेमा निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए । सुदीपले कीर्तिमान गरेवापत पाउने १५ हजार रकम प्राप्त गरेका छन् ।

कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।
भलिबल:

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा वागमतीले उपाधि जित्यो ।
त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो । कर्णाली तेश्रो भयो । छात्राको उपाधि भिडन्तमा वागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।

कबड्डी:

कबड्डीको छात्रमा सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

 

प्रतिक्रिया दिनुहोस्