सिंहदरबारमा के छ ?

0
Shares

काठमाडौं

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र के होला ? आम चासोको विषय हो । ८ सय ३ रोपनी क्षेत्रफलमा फैलिएको सिंहदरबारभित्र २२ वटा मन्त्रालयका साथै अन्य महत्वपूर्ण विभाग र निकाय छन् ।

सिंहदरवारभित्र प्रवेश गर्ने व्यक्तिहरूलाई आफूले जान चाहेको मन्त्रालयमा सहज रूपमा पुग्नका लागि सरकारले सिंहदरबार दक्षिण गेटसँगै २२ वटा मन्त्रालयको अवस्थितिका साथै महत्वपूर्ण गतिविधिहरूसमेत समेटिएको भिडियोसहितको डिस्प्ले जडान गरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिलो पटक ‘सिंहदरबारमा के छ ?’ भन्ने भिडियोसहितको डिस्प्ले राखेको हो ।

कार्यालयका आयोजना प्रमुख मच्चाकाजी महर्जनले सिंहदरबार प्रवेश गरेका नागरिकलाई सहज रूपमा आफूले चाहेको मन्त्रालयमा जान सहज बनाउने उदेश्यले डिस्प्ले राखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिंहदरबारभित्र प्रवेश गरेर अलमलमा नपरुन् भनेर जानकारीमूलक डिस्प्ले राखिएको हो ।’

सिंहदरबार परिसरभित्र सिंहदरबारको बारेमा जानकारीमूलक सन्देश सहितको डिजिटल डिस्प्ले जडान गरेपछि सेवा लिन आएका सेवाग्राहीलाई सहज भएको छ ।सिंहदरबारको दक्षिण गेटबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले उक्त डिस्प्लेमार्फत् सिंहदरबारको बारेमा भिडियोसहितको जानकारी प्राप्त गर्न सक्नेछन् ।

सिंहदरबारभित्रका निकायहरूको अवस्थितिलगायत डिस्प्लेमा राखिने महर्जनले जानकारी दिनुभयो । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्र साहले सिंहदरबारभित्र सेवा लिन आउने नागरिकको सहजताको लागि भिडियोसहितको डिस्प्ले राखिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाहेक अन्य मन्त्रालय सिंहदरबारभित्र नै रहेको छ । मन्त्रालयसँगै सिंहरदरबारभित्र राष्ट्रिय सतर्कता केन्द्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय सर्तकता केन्द्र, राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय रहेका छन् ।

तीन तहको सरकार बने पनि सिहदरबार प्रवेश गर्नेको संख्यामा अझै कमी आउन सकेको छैन् । सिंहदरबार सुरक्षा गणका डीएसपी अनन्त शर्माले हाल दैनिक ५ देखि ९ सय जना सिंहदरबार प्रवेश गर्ने गरेको बताउनुभयो । प्रधानमन्त्री एव मन्त्रीपरिषद्को कार्यालयको निर्देशनमा भिडियोसहितको डिस्प्ले राखिएको हो ।