१ करोड रुपियाँबारे मेयर बालेनको स्पष्टोक्ति

0
Shares

 काठमाडौं । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बजेट पुस्तिकामा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको दबाबमा ई–स्पोर्टस सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजन गरेको विषयले चर्चा पाएको छ ।

नेपालमा भर्खरै शुरू भएको अनलाइन खेल प्रतियोगिता आयोजना गर्न यतिका धेरै रकम विनियोजन गरेको विषयमा मेयर सचिवालयले कुनै उत्तर दिएको छैन । भिक्टर पौडेल ई–स्पोर्टसअन्तर्गत पब्जी खेल खेलाउने टीमसँग आबद्ध छन् । उच्च स्रोतका अनुसार ई–स्पोर्टसअन्तर्गत पब्जी खेल प्रतियोगिता सञ्चालन गर्न रकम विनियोजन गरिएको हो ।

सीधै ई–स्पोर्टसका दर्जनौं खेलमध्ये कुन खेलका लागि १ करोड रुपियाँ विनियोजन गरिएको हो ? भन्ने प्रश्न सर्वत्र चासोको विषय बनेको छ । यसैबीच मेयर बालेन्द्र साहले १ करोड रुपिया विनियोजन गरेको सम्बन्धमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा उठेको प्रसंगले आफ्नो ध्यानाकर्षण भएको भन्दै सामाजिक सञ्जालमार्फत् उक्त बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको दाबी गर्नुभएको छ ।

फेसबुक स्टाटसमा उहाले लेख्नुभएको छ– ‘ई–स्पोर्टस्का लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बाैंको आर्थिक योगदान गर्ने विधा हो ।नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दै छ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् ।’ उहाँले थप लेख्नुभएको छ – ‘यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ ।

फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुनेछैन ।’ उहाँले सामाजिक सञ्जालमार्फत् यो विषयलाई लिएर आफ्नो नाम जाडेर अतिरञ्जित र अनैतिक रूपमा समाचारहरू प्रकाशित भएको भन्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न र गराउन अनुरोध गर्नुभएको छ । महानगरले ई–स्पोट्र्सका लागि छुट्याएको १ करोड रकम रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई दिन लागिएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।