प्रश्नपत्र हुबहु निकाल्ने र चोरी गर्नेलाई कारबाही : शिक्षामन्त्री


काठमाडौंं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र चोरी गर्नेलाई तत्काल कारबाही गरिने बताउनुभएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र चोरी गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताउनुभएको हो ।
उहाँले देशको करिब ८० प्रतिशत व्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयको गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्ता कार्य हुन नदिनेमा आफू सजग भएको बताउनुभयो ।

अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकायअन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताउनुभयो ।

यसैबीच परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति जारी गरी विश्वविद्यालयमा ती दुवै प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरूलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गरी सो निर्णय गरेको हो । यसअघि डीन कार्यालयले कारबाही गर्न गरेको सिफारिसको आधारमा रजिस्ट्रारको कार्यालयले उक्त सूचना जारी गरेको हो । सूचनामा तीन वर्षसम्म डीन कार्यलयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिवि अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्र्तगतका कुनै पनि आंगिक क्याम्पसहरूमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने निर्णय भएको जनाइएको छ ।

बीबीए छैटौं सेमेस्टरअन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ः अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेस्टरअन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचांै सेमेस्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।
अल्लिो वर्षको प्रश्नपत्र दोहोरिएको विषयहरूको लागि भने परीक्षासम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यस पटकलाई प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञहरूलाई सचेत गराउने निर्णय रजिस्ट्रार कार्यालयले गरेको छ ।

यसअघि व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले परीक्षामा निजी कलेजको प्रश्नपत्र हुबहु मिलेको र प्रश्नपत्र बनाउन संलग्न रहेको शिक्षकलाई कारबाही गरिएको जानकारी दिनुभएको थियो । त्यसबेला डीन शर्माले परीक्षा र व्यक्तिको गोपनीयताको कारण कारबाही गरिएको शिक्षकको नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभएको थियो । साथै डीन कार्यालयले प्रश्नपत्रसम्बन्धी कार्यमा मर्यादा विपरीत कार्य गरेको पाइएको हुँदा सो प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरूलाई यस संकायको परीक्षा समितिको निर्णयअनुसार त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०, परिच्छेद ६ (ग) को व्यवस्थाअन्तर्गत कारबाही गरिएको बताएको थियो ।