उपसभामुखका लागि भुसाल र भट्टराईको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनकै उम्मेदवारलाई लोसपाको पनि समर्थन



काठमाडौं ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र प्रतिपक्ष दल एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

हिजो बिहीबार दिउँसो १ बजे हुने निर्वाचनका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ भुसाल र एमाले नेतृ भट्टराईले मनोनयन दर्ता गराउनुभएको हो ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी रहनुभएको छ । यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । भुसाल तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो ।

वि.सं.२०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २ सय १ मतले विजयी हुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । सत्ता गठबन्धनमा रहेका सबै दलको समर्थन रहेकोले भुसालको विजय करिबकरिब निश्चित जस्तै मानिएको छ ।

त्यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेका शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीले उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सघाउने निर्णय गरेको छ । सरकारलाई समर्थन गरेर सरकारमा सहभागी नभएको लोसपाले गठबन्धनलाई नै सघाउने भएको हो । एमालेले लोसपाको उम्मेदवारलाई समर्थन गर्ने तयारी गरे पनि लोसपाले उक्त प्रस्ताव अस्वीकार गरेपछि एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको हो ।

हाल प्रतिनिधिसभामा एमालेको ९८ जना, नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका ३२, जसपाका २१ र लोसपाका १३ जना सांसद रहेका छन् । बाँकी अन्य सांसदहरूमा राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनर्मोचाका दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र स्वतन्त्र छक्क बहादुर लामा रहेका छन् ।

निर्वाचनमा विजयी हुनको लागि हाल कायम रहेको सांसदमध्ये १ सय ६६ मत प्राप्त गर्नुपर्ने हुन्छ । लामो समय उपसभामुखको पद रिक्त रहेको थियो । प्रतिपक्ष दल नेकपा एमालेलेको माग अनुसार सत्ता गठबन्धन उपभामुखको निर्वाचन गर्न तयार भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्