उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट



सुर्खेत । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योटगरेको हो ।

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योटगरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले लक्ष्यभन्दा २०८ थान बढी मुद्दा फर्छ्योटगरिएको जानकारी दिए ।

“गत वर्षका सरी आएका २६५ र चालु आवमा दर्ता भएका ७५६ थान गरी कूल एक हजार २१ थान मुद्दा सङ्ख्या रहेका थिए”, मुख्य न्यायाधीश सिवाकोटीले भने, “कूल सङ्ख्यामा ७६९ अर्थात् ७५.३२ प्रतिशत मुद्दा फर्छ्योट गरिएको छ ।” उनले उच्च अदालतमा आएका मुद्दामा जबर्जस्ती करणीका मुद्दा बढी भएको जनाए ।

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्षअघिका कुनै पनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फर्छ्योटहुन नसकी बाँकी रहेका २६५ मुद्दामा आठ थान मात्र फर्छ्योटगर्न बाँकी भएको जनाए । फर्छ्योट हुन बाँकी रहेका २५२ थान मुद्दामध्ये अधिकांश मुद्दा छ महिनाभित्र दर्ता भएको उनले बताए ।

“अदालतले छ महिनाभित्रका १७० थान, छदेखि १२ महिनाभित्रका ८२ थान, १२ देखि १८ महनिाभित्रका मुद्दा आठ थान र १८ महिना नाघेका छ थान गरी २५२ थान मुद्दामात्र बाँकी छन्”, रजिष्ट्रार कोइरालाले भने, “गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता सङ्ख्या निकै बढी रहे पनि फर्छ्योटदर पनि बढेको छ ।” उनका अनुसार गत आव ०७७र०७८ मा ७३३ थान मुद्दा रहेकामा ४६८ थान (६३.७५५) मुद्दा मात्र फर्छ्योट भएका थिए ।

उच्च अदालतका अनुसार सुर्खेतमा परेका फौजदारी मुद्दामध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका १७२, दोस्रोमा ज्यानसम्बन्धी १०८, तेस्रोमा लागुऔषधका ९१ थान मुद्दा रहेका छन् । त्यस्तै, देवानीमा अंश मुद्दाका १९, सम्बन्धविच्छेदका १७ र लेनदेनका १३ थान मुद्दा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्