‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’

0
Shares

काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।

देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको उनले बताए। उनले प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकाय अन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए ।