अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैनः सञ्चारमन्त्री कार्की

0
Shares

ललितपुर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंकाजस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विचार राख्दै केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताएका हुन् । ‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्राष्ट्रिय विश्वसनीयता, लगानीमैत्री नीति सकारात्मक उन्मुख रहेको बताउँदै कार्कीले भने, ‘केही अर्थतन्त्रमा समस्या नभएका होइनन्, ती समस्यालाई हामीले सबल अर्थतन्त्रतर्फ अघि बढाउनेछौं ।’उनले रुस र युक्रेनबीचको युद्धको प्रभाव विश्वभरमा फैलिएको र अमेरिका, जापानलगायतका मुलुकमा मूल्यवृद्धि भइरहेको बताए ।

उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताको अभिमतपश्चात् नयाँ सरकार निर्माण गरिने र नेपाललाई विकास र समृद्धिको दिशामा अग्रसर बनाए ।‘आजभन्दा एक वर्ष अगाडिको परिस्थितिमा अन्योल, अनिश्चय पैदा भएको थियो । राज्य संयन्त्र तहसनहस, संसद् विघटन भयो, त्यो बाध्यात्मक अवस्थामा थियो । मुलुकको राजनीति सही ट्रयाकमा आएको छ । लोकतन्त्र र संविधानको रक्षा भयो,’ उनले भने ।

मन्त्री कार्कीले राष्ट्र बैंकका गभर्नरप्रतिको जिज्ञासामा यस विषयमा संसदमा कुरा उठेको र अर्थतन्त्र सम्बन्धमा छानबिन समितिले सत्य, तथ्य विषय बाहिर ल्याउने बताए । उनले मिडियाले खेलेको भूमिकाले पनि जनतामा चेतनाको वृद्धि भएको उल्लेख गरे ।

‘कांग्रेस नेतृत्वमा सबैले गर्व गर्नुपर्छ’

सञ्चारमन्त्री कार्कीले कांग्रेस सभापति देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताए । ‘हामीले हाम्रो सभापतिमाथि गर्व गर्नुपर्ने अवस्था छ । थोरै सिट हुँदाहुँदै हामी सरकार मात्र छैनौं, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौं । केन्द्र, प्रदेश र गाउँगाउँमा आज कांग्रेस छ,’ उनले भने ।

उनले गठबन्धनको सरकार भएकाले यसमा समस्या रहेको बताउँदै त्यसलाई समाधान गर्नुको विकल्प नरहेको बतए । उनले देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनको निरन्तरता जरुरी रहेको स्पष्ट पारे । यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्ने बताउँदै उनले थपे, ‘हिजो हप्तैपिच्छे करोडौंको भ्रष्टाचार भएको समाचार आउँथे, अहिले देशमा सुशासन कायम भएको छ ।’