बुद्धिचाल संघको वेबसाइट, कार्यालय स्थापना हुने

0
Shares

काठमाडौं । 

नेपाल बुद्धिचाल संघको नयाँ नेतृत्वले आगामी चार वर्षका लागि केही योजना सार्वजनिक गरिएको छ । जसमा संघले एक महिनाभित्र कार्यालय स्थापना गर्ने, वेबसाइट शुरु गर्ने जस्ता महत्वपूर्ण योजना समेटिएको छ ।

यही असार २७ गते बुद्धिचाल संघको साधारणसभा सम्पन्न भएको थियो र उक्त सातौं साधारणसभामा भएको निर्वाचनले विदुरप्रसाद गौतमलाई संघका अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको थियो । गौतमको नेतृत्वमा रहेको निर्वाचित टोलीले केही योजनाहरू सार्वजनिक पनि गरिसकेको छ ।

२०४८ सालमा एकल संघ स्थापना भएको थियो । यसअघि, नेपाल बाघचाल तथा बुद्धिचाल संघ भनेर दुवै खेलको एउटै संघमा समेटिएको थियो । त्यतिबेला नारायणकृष्ण जोशीको अध्यक्षतामा संघ खेलकुद ऐन २०४८ बमोजिम नेपाल बुद्धिचाल संघ स्थापना गरिएको थियो । यसअघि, दामोदर शम्शेर जबराको अध्यक्षतामा नेपाल बाघचाल तथा बुद्धिचाल संघको स्थापना २०३४ सालमा भएको थियो ।

बुद्धिचाल संघ स्थापना भएको अहिले ३१ वर्ष भइसकेको छ । यति लामो समयमा संघमा केवल ६ जना अध्यक्ष भएका छन् । नारायणकृष्ण जोशी, अनिरुद्र जोशी, सीताराम अग्रहरी, हिराबहादुर स्थापित, स्व. राजेशहरि जोशी तथा एकालाल श्रेष्ठले अध्यक्ष पद निर्वाह गरेका थिए । हाल अध्यक्षमा निर्वाचित विदुर गौतम संघका सातौं अध्यक्ष हुन् । अहिले निर्वाचित टोलीले बुद्धिचालको विकासको लागि निकै राम्रा राम्रा योजना ल्याएको छ । यसको कार्यान्वयन हुन्छ हुँदैन त्यो भविष्यको कुरा हो ।

हाल संघको कार्यालय र आधिकारिक वेबसाइट योजनामा रहनु टोलीको बुद्धिचाल विकासको लागि सकारात्मक रहेको मान्नुपर्छ । आफ्नै कार्यालय भएपछि काम गर्न सहज हुने संघका सचिव उमेश केसी बताउनुहुन्छ । केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो—हामीले एक महिनाभित्र आफ्नै कार्यालय स्थापना गर्नेछौँ ।

यसले गर्दा प्रशिक्षण दिने, आधिकारिक काम गर्ने सकिनेछ । वेबसाइट पनि अहिलेको इन्टरनेटको जमानामा पनि आवश्यक छ । पहिला पनि हामीले कोशिस गरिरहेका पनि हौँ । तर, केही न केही बाधा अडचन आउन थाल्यो र काम हुन सकेन । अहिले हामीले एक हप्ताभित्रै वेबसाइट शुरु गरिहाल्नेछौँ ।
योजनामा मिसन आईएम प्रोजेक्ट लन्च गर्ने पनि रहेको छ । नेपालमा आईएम (इन्टरनेसनल मास्टर) खेलाडी छैनन् । आईएम उत्पादन गर्नका लागि मिसन आईएम प्रोजेक्ट लन्च गर्नु आवश्यक रहेको संघका सचिव केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो—‘ओलम्पिया चेस मास्कोमा हुनुपर्ने हो । तर, कोरोनाको कारण स्थगित भयो, यसपछि युक्रेन र रुसको तनावपछि मास्कोमा सम्भव भएन । अब यो ओलम्पिया चेस चेन्नाईमा हुँदै छ । यसमा सहभागिता भएर नेपाली खेलाडीलाई आईएम हुने बाटोतिर लाने कोशिसमा छौँ ।बुद्धिचाल प्रतियोगितालाई ग्रासरुटदेखि शुरु गर्न आवश्यक छ । हरेक खेलको विकास र खेलाडीलाई उत्कृष्ट बनाउनको लागि बच्चैदेखि प्रशिक्षण दिनुपर्छ । यसैले बुद्धिचालको विकासको लागि ग्रासरुटदेखि शुरु गर्ने र चेस इन स्कुल प्रोगामलाई महत्व दिइएको छ ।

त्यसो त चेस ईन स्कुल प्रोग्राम पहिले पनि भइरहेको हो । बीचमा कोरोनाले गर्दा यसले निरन्तरता पाएन । केसीले यसबारे बताउनुभयो—‘चेस इन स्कुल प्रोग्राम राम्रो भइरहेको थियो । तर, कोरोना महामारीले गर्दा स्कुल बन्द भयो यसले गर्दा यो कार्यक्रम पनि स्थगित हुन पुग्यो । यो कार्यक्रमले गर्दा धेरै राम्रा राम्रा खेलाडी उत्पादन भएका छन् । जति पनि अहिले खेलाडी छन्, उनीहरूले नेपाली बुद्धिचालमा अगुवा गरिरहेका छन् । यो कार्यक्रम काठमाडौं मात्र होइन उपत्यकाबाहिर पनि राम्ररी चलेको थियो । यसलाई अब फेरि हामीले शुरु गर्न गइरहेका छौं ।’

योजनाअनुसार हाल ५० जिल्लामा कायम रहेको संघको स्वरूपलाई एक वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिनेछ । २०७६ सालमा नै ७ वटै प्रदेशको संरचना बनिसकेको अवस्थामा मधेस प्रदेश बाहेकका ६ वटा प्रदेश खेलकुद परिषद् तथा बोर्डमा प्रदेश संघहरू दर्ता प्रक्रियामा गइसकेका छन् । आगामी ४ वर्षे कार्यकालमा सकभर २ वर्षभित्र सबै पालिकामा बुद्धिचाल संघ गठन गरिसक्ने केसीले बताउनुभयो । यसका साथै संघले खेलाडी संरक्षण कोषको स्थापना गर्ने पनि लक्ष्य लिएको छ ।