ग्लोबल आईएमई बैंकको अभियान विदेशी मुद्रा नेपाल ल्याउने



काठमाडाैं  ।

ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लन्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संयुक्त अधिराज्यको लन्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरूपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

‘यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत् यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकता अनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रूपियाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ’ – उहाँले भन्नुभयो ।

नेपालको प्रतिष्ठित व्यावसायिक समूह आईएमई समूहका अध्यक्ष ढकालले आईएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकताअनुरूप आफ्ना व्यावसायिक गतिविधिहरू अगाडि बढाउँदै आएको बताउनुभयो ।

‘आईएमई रेमिट हामीले शुरू गरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आईएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा शुरू गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आईएमई नाम आफैंमा रेमिटको पर्यायवाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन प-यो भने आईएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ’ – उहाँले भन्नुभयो ।

त्यसै गरी, ‘अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौं’ – उहाँले भन्नुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।गैर आवासीय नेपाली संघसँग आफूहरूको सहकार्य शुरू भइसकेको बताउँदै उहाँले गैरआवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ्गमा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताउनुभएको छ ।

सोअवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरू, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरू तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो ।

यसअघि नेपलिज एकाउन्टेन्स् एसोसिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरूलाई सहजीकरण गर्न एसोसिएसनलाई आग्रह गर्नुभएको छ ।

लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उहाँले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरूले नै भूमिका निभाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्