माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ७१ लाख

गत वर्षको तुलनामा १० हजार बढी

0
Shares

केन्द्रका महानिर्देशक पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्न विद्यालयमा बसको व्यवस्था गर्न लागिएको जानकारी दिँदै भन्नुभयो– ‘सामुदायिक विद्यालय मर्ज गर्दा होस् वा टाढा रहेका विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज बनाउन बसको व्यवस्था गर्ने तयारी भइरहेको छ । हामीले २५ देखि सयवटा विद्यालयलाई बसको व्यवस्था गर्ने तयारी गरेका छौं ।’

काठमाडौं । 

नेपालमा आधारभूतदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या करिब ७१ लाख रहेको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार संख्या बढेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । केन्द्रका अनुसार शैक्षिकसत्र २०७७ मा ७० लाख ८२ हजार ३ सय ६९ विद्यार्थी थिए । फ्ल्यास रिपोर्टमा उल्लेख भएअनुसार शैक्षिकसत्र २०७८ मा ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।
केन्द्रले २०७९ सालको तथ्यांक २०८० सालमा सार्वजनिक गर्नेछ ।

केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले नेपाल समाचारपत्रलाई आधारभूत तहमा विद्यार्थी संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले पछिल्लो समय सामुदायिक विद्यालयमा अध्ययन गर्नेको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो ।

सरकारले १–८ कक्षालाई आधारभूत र ९–१२ कक्षालाई माध्यमिक तहको रूपमा परिभाषित गरेको छ । झण्डै ७१ लाख विद्यार्थी अध्ययन गर्ने निजी र सामुदायिक विद्यालयको संख्या ३४ हजार ३ सय ६८ रहेको छ । केन्द्रले दिएको तथ्यांकअनुसार कक्षा १ देखि ५ मा ३५ लाख ४८ हजार ६ सय ३६ र ६ देखि ८ मा १७ लाख ७७ हजार ३ सय ४४ गरी आधारभुत तहमा कूल ५३ लाख २५ हजार ९ सय ८० विद्यार्थी अध्ययनरत् छन् । त्यस्तै ९ र १० मा १० लाख ७९ हजार ३ सय ६३ र ११ तथा १२ मा ६ लाख ८७ हजार ६ सय १६ गरी माध्यमिक तहमा १७ लाख ६६ हजार ९ सय ७९ विद्यार्थी अध्ययनरत् छन् ।

कक्षा १ देखि १२ सम्म छात्राभन्दा छात्रको संख्या १ लाख ४६ हजार ७ सय ८१ बढी अर्थात् ३४ लाख ७३ हजार ८९ छात्रा र ३६ लाख १९ हजार ८ सय ७० छात्र रहेका छन् । त्यसैगरी केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल मुलुकभर २६ हजार ४ सय ५४ सामुदायिक, ६ हजार ७ सय ६० संस्थागत र १ हजार १ सय ५४ धार्मिक विद्यालय सञ्चालनमा छन् । निजी विद्यालयका संस्था प्याब्सनले भने मुलकभर करिब १० हजार संस्थागत विद्यालय सञ्चालनमा रहेको बताउने गरेको छ ।

कक्षा १ देखि ५ सम्म ३४ हजार १ सय ६८, १ देखि ८ सम्म ३४ हजार ३ सय ६ र ९ देखि १२ कक्षासम्म १० हजार ९ सय ६२ विद्यालय छन् । तीमध्ये ११ र १२ मात्र पढाउने विद्यालयको संख्या ४ हजार ३ सय १० रहेका छन् । केन्द्रका प्रवक्ता लुइँटेलका अनुसार कक्षा १ को कुल प्रवेश दर १ सय २७ प्रतिशत, पूर्व प्राथमिक शिक्षामा कुल भर्ना दर ८९ दशमलव ६, पूर्व प्राथमिक शिक्षाबाट कक्षा १ मा भर्ना हुने दर ७४ दशमलव ९ प्रतिशत छ ।

त्यस्तै कक्षा १ देखि ५ मा खुद भर्ना दर ९६ दशमलव ९, कक्षा १ देखि ८ मा ९५ दशमलव १, आधारभूत शिक्षाको तह पूरा गर्नेको ७६ दशमलव २ रहेको छ । तथ्याङ्कअनुसार कक्षा ११ र १२ को खुद भर्नादर ५४ दशमलव ३ प्रतिशत छ ।

केन्द्रका महानिर्देशक पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्न विद्यालयमा बसको व्यवस्था गर्न लागिएको जानकारी दिँदै भन्नुभयो–‘सामुदायिक विद्यालय मर्ज गर्दा होस् वा टाढा रहेका विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज बनाउन बसको व्यवस्था गर्ने तयारी भइरहेको छ ।

हामीले २५ देखि सय वटा विद्यालयलाई बसको व्यवस्था गर्ने तयारी गरेका छौं ।’उहाँका अनुसार केन्द्रले विद्यालयमा बसको व्यवस्था गर्न मन्त्रालयमा कार्यविधि तयार गरी पठाएको छ ।