जोकोभिचलाई सातौं विम्बल्डन उपाधि

0
Shares

लन्डन, (एजेन्सी) ।

शीर्ष वरीयताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

लन्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको यस सिजनको विम्बल्डन टेनिसको फाइनल जितेसँगै जोकोभिच सातौंपटक च्याम्पियन बनेको हो । यसपटक अस्ट्रेलियन निक किर्गियोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

जोकोभिचले किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा साताँैपटक च्याम्पियन बनेका हुन् । विश्व नम्बर एक जोकोभिचले पहिलो सेट गुमाए पनि निकमाथि ४–६, ६–३,६–४ र ७–६ (७–३) को सेटमा जित निकाले ।

सातौंपटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले स्वीस स्टार रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि दोस्रो वरीयताका स्पेनका राफायल नाडाल रहेका छन् । नाडालले सर्वाधिक २२ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलको सुरुवात सेट ४–६ ले गुमाएको ३५ वर्षीय जोकोभिचले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट ६–३ र तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारेको जोकोभिचले चौथो सेटमा ७–६ (७–३) को संघर्षपूर्ण जित निकाल्यो ।

यो जितसंगै जोकोभिच विम्वल्डनमा लगातार चौथो सिजन च्याम्पियन बन्न सफल भएका हुन् । त्यसअघि, जोकोभिच २०१८, २०१९ र २०२१ मा च्याम्पियन बनेको थियो । २०२० मा भने कोभिडका कारण विम्बल्डन हुन सकेन । त्यसअघि, जोकोभिच २०११, २०१४ र २०१५ मा च्याम्पियन बनेका थिए ।