नो मर्सी र न्यु जेनिथलाई उपाधि

0
Shares

काठमाडौं । 

नो मर्सी र न्यु जेनिथले प्रथम एसईई कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाई थ्री बास्केटबलमा च्याम्पियन बने ।

खुमल्टारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा भएको फुटसल फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित ग-यो । उपाधिसँगै नो मर्सीले ५० हजार तथा स्वस्तिश्रीले २५ हजार नगद पुरस्कार पाए ।

नो मर्सीका सञ्जय लामा उत्कृष्ट खेलाडी तथा स्वस्तिश्री गुरुकुल रेडका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १३ गोल गरेका नो मर्सीका गौरव महर्जन सर्वाधिक गोलकर्ता बने ।

बास्केटबलको फाइनलमा न्यु जेनिथले ऋत एकेडेमीलाई १९–१७ ले हरायो । न्यु जेनिथका सुसन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । न्यु जेनिथले ३५ हजार तथा ऋतले २० हजार नगद पुरस्कार प्राप्त गरे । दुईदिने प्रतियोगिताको फुटसलमा २४ तथा बास्केटबलमा १६ टिम सहभागी थिए ।