१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

0
Shares

काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरियो । पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । हाल विश्व जुनियर वरीयताको सातौं स्थानमा रहेका प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा रहेका थिए ।

बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए । बक्सिङका तीनैले यूएईमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए । सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन् ।

यस्तै, एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भणडारी, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारू, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०–५० हजार नगद पुरस्कार पाए ।

राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका मयाराथनमा रजत जितेका थिए । पोखरामा भएको नवौं दक्षिण एसियाली ट्रायथलनमा सोनी र वसन्तले कांस्य हासिल गरेका थिए । रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा काँस्य हात पारेका थिए । एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुन् ।