बुद्धिचाल संघको चुनावविरुद्ध मुद्दा राखिने


काठमाडौं । 

नेपाल बुद्धिचाल संघको चुनाव विधानविपरीत भएको भन्दै त्यसविरुद्ध मुद्दा राखिने भएको छ । संघका महासचिव हिराकाजी महर्जनले नियम अनुसार र विधान अनुसार चुनाव नभएको बताउँदै सर्वोच्च अदालतमा मुद्दा राख्ने भएका हुन् ।

महर्जनले नेपाल समाचारपत्रलाई बताए—‘यो चुनाव नियम विपरीत छ र विधानविपरीत पनि छ । यसैले यो चुनावविरुद्ध आज मंगलबार मुद्दा राख्न गइरहेको छु । यो राष्ट्रिय खेलकुद परिषद्बाट पछि वैधानिकता दिइने नियतले चुनाव गरेको हो ।

यही असार २४ र २५ गते संघको साधारण सभा हुने भनिएकोमा उक्त साधारणसभा स्थगित गरिएको थियो । तर, सोमबार भने संघको चुनाव भएको छ । संघका वरिष्ठ उपाध्यक्षको मौखिक जानकारीको आधारमा राष्ट्रिय खेलकुद परिषद्को सहयोग लिएर चुनाव गरेको महर्जनको आरोप रहेको छ । उनले चुनाव गर्न राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार कम्तीमा चार स्थानीय तह गठन गरी जिल्ला संघ गठन गर्नुपर्ने बताए ।

उनले बताए— ‘नयाँ ऐनमा स्पष्ट लेखिएको छ कि कम्तीमा चार स्थानीय गठन हुनुपर्छ । त्यसपछि मात्रै केन्द्रीय प्रतिनिधि चयन हुन्छ । तर, यहाँ एकैचोटि चुनाव गरिएको छ । यो ऐन लागू भइसकेको अवस्थामा चुनाव गर्न पाउँदैन । यस्तो चुनाव त नयाँ ऐन लागू नभएको खण्डमा गर्न पाइन्छ ।

संघको विधानमा उल्लेख भए अनुसार विश्व बुद्धिचाल महासंघका प्रतिनिधि सहभागी हुनुपर्ने तर, संघका उपाध्यक्ष रामकुमार थापालाई अनाधिकृत रूपमा फर्जी प्रतिनिधि बनाएको महर्जनले बताए ।यसैगरी, चुनाव गर्न राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत लिएर कम्तिमा सात दिन अगाडि निर्वाचन समिति गठन गर्नुपर्ने उनले बताए । तर, यसरी चुनाव गर्नु बलप्रयोग भएको महर्जनले आरोप लगाएका छन् ।