निजामती सेवा ऐन जारी गर्न कर्मचारीको दबाब



काभ्रे । 

संघीय निजामती सेवा ऐन जारी गर्न जिल्ला स्थित कर्मचारीका संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गायत्रीरमण घिमिरे, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष हरिकृष्ण तिमल्सिना, राष्ट्रिय कर्मचारी संगठन (निजामती) का. अध्यक्ष रामशरण मिजार, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल मधेशी निजामती कर्मचारी मञ्चमा आवद्ध कर्मचारीहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।

समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसँग सघन छलफलको आवश्यकता रहेको कर्मचारीहरुले बताए । नेपाल सरकारले सरोकारवाला पक्षहरुको सहमतिमा निजामती प्रशासनलाई संघीय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक मैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्न राष्ट्रियस्तरका टे«ड युनियनबाट विभिन्न समयमा पेश भएका सुझावहरुलाई समेटी संघीय संसदको चालू अधिवेशनबाट यथाशिघ्र सङ्घीय निजामती सेवा ऐन जारीे गर्न नेपाल सरकार समक्ष माग गरेका छन् ।

चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका थप कार्यक्रमहरुलाई अघि बढाइने चेतावनी कर्मचारीहरुले दिएका छन् ।ऐनमा समावेश गरिएको निजामती कर्मचारीको परिभाषा, निजामती सेवाको गठन, कर्मचारीको पदपुपर्ति, भर्ना, छनौट तथा पदस्थापना, सरुवा, बढुवा, संगठन संरचना, कार्य सम्पादन सम्झौता, भौगोलिक क्षेत्रको विभाजन, सामाजिक सुरक्षा, सेवा सुविधा र सुरक्षा, कर्मचारी कल्याण कोष, अनिवार्य अवकास, अध्ययन, भ्रमण र तालिम, ट्रेड यूनियन, संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवावीच प्रशासनिक अन्र्तसम्बन्ध कायम गर्न गरिनु पर्ने व्यवस्था, निजामती सेवाको सुधार, जनशक्ति विकास एवं विविध विषयमा ध्यानार्कषण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्