सधैं विद्यार्थीमाथि खेलवाड

पटकपटक प्रश्नपत्र आउट



काठमाडौं । 

–नेकपा एस निकट विद्यार्थी संगठनद्वारा उपकुलपतिको कार्यकक्षमा तोडफोड

सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ । लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिँदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन ।

यहाँसम्म कि परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार प्राडा पेशल दाहालसँग परीक्षाको बारेमा जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहनुभएन । हदसम्मको लापरबाही हुँदा गल्ती स्वीकार गर्ने वा पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिनेसम्मको प्रचलन छैन । परीक्षाको विषयमा जानकारी लिन टेलिफोन गर्दा सम्पर्कमा नआएका रजिस्ट्रार दाहालको कार्यकक्षमा सोमबार नेविसंघले तालाबन्दी गरेको छ ।

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ । त्यसको पछिल्लो घटना असार २२ को हो । त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर’ को प्रश्नपत्र दोहोरिएको हो । सो प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो । त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको ‘नेप्लिज सोसाइटी

एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो ।
यसरी परीक्षाको प्रश्नपत्र निजी कलेजसँग हुबहु मिल्दा प्रश्नपत्र निर्माण गर्नेलाई बर्खास्त गर्ने आँट त्रिविमा छैन । यस्ता लापरबाहीको छानबिन गरी दोषीलाई कारबाही नगरिए विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी नेपाल विद्यार्थी संघले दिएको छ ।

व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले परीक्षामा निजी कलेजको प्रश्नपत्र हुबहु मिलेको र प्रश्नपत्र बनाउन संलग्न रहेको शिक्षकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आइतबार बसेको परीक्षा समितिको बैठकले ३ जना शिक्षक र केही कर्मचारीलाई कारबाही गरेको छ ।’ उहाँले परीक्षा र व्यक्तिको गोपनीयताको कारण कारबाही गरिएको शिक्षकको नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।

‘उहाँहरूलाई थप कारबाही गर्न कार्यकारी परिषद्मा सिफारिस गरी पठाएका छौं, कार्यकारीले के निर्णय गर्छ, सोहीअनुसार थप कारबाही प्रक्रिया अघि बढाउनेछौं’ –उहाँले भन्नुभयो ।डीन कार्यालयले जारी गरेको सूचनामा प्रश्नपत्रसम्बन्धी कार्यमा मर्यादाविपरीत कार्य गरेको पाइएको हुँदा उक्त प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरूलाई यस संकायको परीक्षा समितिको निर्णयअनुसार त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०, परिच्छेद ६ (ग) को व्यवस्थाअन्तर्गत कारबाही गरिएको भन्दै सूचना जारी गरेको उल्लेख छ ।

कार्यालयले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या तथा कमीकमजोरीको विस्तृत अध्ययन तथा छानबिन गरी राय सुझाव पेस गर्न एक उच्चस्तरीय समिति गठन गरिएको समेत सूचनामार्फत् जानकारी दिएको छ । नेविसंघले विज्ञप्ति जारी गरी व्यवस्थापन संकायका डीनले राजीनामा दिनुपर्ने जनाएका छन् । नेविसंघले सोमबार केन्द्रीय परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सूचना महाशाखा प्रमुख योगेन्द्र दाहालले उपकुलपति बास्कोटाको कार्यकक्ष तोडफोड भएको र परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार प्राडा दाहालको कार्यकक्षमा नेविसंघले तालाबन्दी गरेको जानकारी दिनुभयो ।

विद्यार्थी संगठनले त्रिविका पदाधिकारीको नालायकीपनका कारण समस्या परेको आरोप लगाएको छ । सरकार आबद्ध एकीकृत समाजवादीका अध्यक्ष सुदेश पराजुलीले परीक्षालाई व्यवस्थित गर्न नसक्ने विश्वविद्यालयका पदाधिकारीले त्रिविलाई कसरी सेन्टर अफ एक्सिलेन्स बनाउँछन् भनी नेपाल समाचारपत्रसँग प्रतिप्रश्न गर्नुभयो । ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि नदिएका कारण आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको उहाँको भनाइ थियो ।

संगठनका कार्यवाहक अध्यक्ष महादेव पन्तले पटकपटक ज्ञापनपत्र बुझाउन जाँदा इन्कार गरेको र हिजो पनि ज्ञापनपत्र बुझाउँदा प्रहरी परिचालन गरी विद्यार्थीमाथि अभद्र व्यवहार गरेपछि तोडफोड भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले समय मागेका थियौं, दिन इन्कार गरेपछि झगडा भएको हो ।’ त्रिवि उपकुलपति कार्यालयका अनुसार सो विद्यार्थी संगठनले त्रिवि स्थापना दिवसको दिन समय माग गर्दा उक्त दिन नभ्याउने भनी जानकारी गराइएको र आज मंगलबारका लागि समय मिलाएको अवस्थामा एकाएक तोडफोड गरेको आरोप लगाइएको छ ।

विद्यार्थीले तोडफोड गर्दा उपकुलपति बास्कोटा शिक्षा मन्त्रालयको बैठकमा सहभागी हुनुहुथ्यो । विद्यार्थीको हुलले उपकुलपतिको नेमप्लेट, उपकुलपति बस्ने कुर्सी, टेबुललगायतका फर्निचर ध्वस्त भएको छ । प्रहरीले पन्तसहित ११ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्