काम चुपचाप गर: हल्ला कामले नै गर्छ



जन्मदै पारिवारिक ऋण भएको व्यक्तिले जीवनमा प्रगति गर्न नसकेजस्तै वैदेशिक ऋण लिएर तलबभत्ता खुवाउने र विकास खर्च गर्ने उद्देश्य राखेको देशले प्रगति गर्न कदापि सक्दैन ।

अतः देशका विभिन्न नेतृत्वमा रहेकाहरूले अब जथाभावी ऋण लिने काम बन्द गर्नुपर्छ । नत्र ऋण नै ऋणले बोझ भएको देशको सिस्टम भावी पीढीका लागि हस्तान्तरण गर्दा नयाँ पुस्ता पुराना पुस्ताका लागि आदरभाव व्यक्त नगर्न पनि सक्छन् ।

वर्तमान नेपालमा टेस्ट नभएका नेताहरूका लागि उनीहरूका पार्टीका कार्यकर्ता र आम शुभेच्छुकहरूले केही मात्रामा आस्था र विश्वास बचाएर राख्न सकेका छन् । बाँकी टेस्ट भैसकेका नेताहरूको पुरानो विचारको पसल याने पार्टीहरूमा खिया लाग्ने क्रम बढ्दो छ ।अरू त अरू देशका अभिभावकीय भूमिकामा रहेका पार्टीहरू भनेर चिनिने र ३० देखि ३५ लाख कार्यकर्ताहरू भएका पार्टीको कार्यनीति, रणनीति र व्यवहारमा क्रमशः मुच्का लाग्न थालेको देखियो । नेपाली कांग्रेस यतिखेर देशको अभिभावकीय भूमिकामा छ ।

उसले वर्तमान गठबन्धन नेतृत्वको सरकारको मोनिटरका रुपमा रहेर काम गरिरहेको छ तर उसका विचार, व्यवहार र कार्यशैलीले आम नागरिकहरू यतिखेर क्वान्त, मलीन र निरुपाय बनिरहेका छन् । स्वयम् प्रधानमन्त्री जनतालाई ‘गठबन्धन सरकार भएकाले धेरै आश नगर्न’ भन्दै मञ्चहरूमा बताइरहेका छन् ।जनतामा व्याप्त असन्तोषमय भुसको आगो क्रमशः बढ्दै जाँदा त्यसले विद्रोहमार्फत मात्रै निकास खोज्ने हो भने त्यो बेला के नेपाली कांग्रेसले मात्र आक्रोशका यावत् लार्भाहरू थेग्न सक्छ ? अहँ सक्दैन ! यही कुरा यतिखेर नेकपा एमालेका हकमा पनि सोह्रैआना लागू हुन्छ । उसको पार्टीका सर्वाधिक शक्तिशाली अध्यक्ष तथा कार्यकर्ताहरूका प्रिय ‘केपी बा’ ले यतिखेर बोलेका, प्रकट गरेका र भावभङ्गीद्वारा प्रकट गरेका विचारहरू सुनेर बाँकी विरोधी पार्टीका नेता–कार्यकर्ताको त कुरै नगरौं उनकै पार्टीका अलि पढेलेखेका नेता–कार्यकर्ता र फलोअरहरूसमेत विरक्त हुँदै छन् ।

उनले केही दिनअघि ‘राजा ज्ञानेन्द्रले आफू नारायणहिटीबाट नागार्जुन दरबार जानुअघि बोलेका कुराहरू भाषणका रुपमा मैले ड्राफ्ट गरिदिएको हुँ’ भनेर भने । यतिसम्म बोल्न फुर्सद भएका ओलीले अब आउँदो प्रादेशिक र संघीय चुनावमा के–कस्ता रणनीति, विकासका खाका र योजनाहरू लिएर जनताका सामु जान्छन् भनेर अहिले सजिलै लख काट्न सकिन्छ ।उनले सोचेका छैनन् । उनको पार्टीको विपक्षमा नेपाली कांग्रेस मात्र बजारमा उभिएको छ । साना–ठूला अन्य पार्टीहरूसमेत निकै तामझामका साथ राजनीतिक हाटमा आफ्ना वस्तुहरू बिक्रीका लागि लाम लागेका छन् ।

राजेन्द्र लिङ्देन र कमल थापावाला राष्ट्रिय प्रजातन्त्र पार्टीद्वयसमेत उनका लागि घाँटीमा अड्किएको चुलेँसी हुन सक्छन् । समयले दिन दुगुना रात चौगुना फड्को मारिरहेको छ । त्यो कुराको हेक्का पुरातन सोच र शरीर भएका नेताहरूले राख्न सकेका छैनन् । स्थानीय चुनावताका एमालेका काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूसँग पूरै पाँच वर्षको चुनावी तयारी गरेर आएका एकतीस वर्षका चुस्त–दुरुस्त उम्मेदवार बालेन्द्र शाह उर्फ बालेनलाई अन्डर स्टिमेट गरेर बोलेका कुराहरूले गर्दा सर्मनाक हार व्यहोर्नुप-यो । चुनावी परिणामको तीक्ततापछि उनको सार्वजनिक मञ्चहरूमा सक्रियता देखिएको छैन । उनी एकाएक मञ्चबाट हराए ।

अब यस्तो स्थिति आउँदो मङ्सिरमा हुने प्रादेशिक र संघीय चुनावमा समेत राष्ट्रिय स्तरका नेताहरूको नहोला भन्न सकिन्न ।पत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर देशव्यापी दौडाहामा आफूलाई सरिक गराइसके । उनीसँग हिजोको पत्रकारिताको जुन क्रेज छ त्यसलाई उनले राम्रैसँग चुनावमा भँजाउन सक्लान्÷नसक्लान्, त्यो भोलिको विषय हो । तर अहिले उनीजस्तै दर्जन चर्चित नामहरू राष्ट्रिय राजनीतिमा एकाएक हस्तक्षेप गर्ने मुडमा देखिएका छन् । रञ्जु दर्शना, बाबुराम–पुत्री मानुषी, रमेश खरेल, स्वागत नेपाल र ज्ञानेन्द्र शाहीहरूको कुनै पनि आवरणमा रानजीतिक अवतरण अनेक तवरले ठूला पार्टीहरूलाई फलामका चिउरा हुने निश्चित देखिँदो छ ।

भनिन्छ, गगन थापाले नै यो संसदीय अवधिमा उनका भोटर र आम समर्थकले चाहेजस्तो गरी जनतालाई सिस्टम डेलिभरीमा आश लाग्दा कामहरू गर्न नसकेकाले अहिले उनको क्रेज क्रमशः घटिरहेको बताइन्छ । उनी वास्तवमा ‘सेलिब्रेटी राजनीतिज्ञ’ हुन् वा ‘डुअर’ के हुन् भन्ने बारेमा चर्चित पत्रकारहरूसमेत उनका बारेमा विश्लेषण गर्न थालेका छन् ।

ख्याल नगरेमा उनलाई समेत समयले पछि छोड्न सक्नेछ । उनका पार्टीका सभापति शेरबहादुर देउवा यतिखेर अहिले देउवा पत्नी आरजु देउवा र पुत्र जयवीरसिंह देउवालाई अघि सारेर आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा पत्नी र पुत्रमोह देखाउन लागिसके । यो आम बुद्धिजीवी र मतदातालाई छर्लङ्ग भैसकेको छ । त्यसैले अहिले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो पार्टीको कार्यशैलीलाई क्रमिकरुपले एकारित सुधार्नुपर्ने आवश्यकता टड्कारोरुपमा देखिएको छ भने अन्तर पार्टीका रुपमा बाँकी रहेका अन्य पार्टी र स्वतन्त्रहरूलाई समेत काउन्टर प्ले गर्न सक्नुपर्ने हुन्छ । नत्र समयको वेभले उनको रानजीतिक जीवनमा समेत यु टर्न ल्याइदिन बेर छैन ।

अहिले गगन थापाले संसद्मा जुन र जस्तो भूमिका खेल्न सक्नुपर्दथ्यो त्यो सकेनन् भन्ने आम जनगुनासो आइरहेको छ । उनले देशव्यापीरुपमा अभाव भएको रासायनिक मलका बारेमा, सरकारी विद्यालयहरूमा पढाइ हुने पाठ्यपुस्तकका बारेमा, आयल निगमले जनताको ढाड सेक्ने गरी बढाएको तेलका बारेमा, दुई र चार पाङ्ग्रे सवारीसाधनमा फेरिन लागेको इम्बोस्ड नम्बरका बारेमा र सत्ता गठबन्धनले जनताका पक्षमा चुस्त–दुरुस्तरुपमा काम गर्न नसकेका बारेमा मुद्दाहरू उठाउनै सकेनन् । जब कि उनलाई अधिकांश नेपालीले भोलिका प्रधानमन्त्रीका रुपमा हेरेका छन् ।

उनी सयौं निराशाका एक्ला सारथी हुन् । त्यसैले उनलाई निष्क्रिय हुने छुट उनको विचार बोकेको पार्टी र उमेरले समेत दिँदैन ।अवस्था सबैतिर एउटै भने छैन । नेपाली जनता भक्तपुर नगरपालिकाजस्तो विकास गर्ने स्थानीय निकाय खोजेका हुन् । मदजुर किसान पार्टीले जितेको एकमात्र नेपालकै नमुना स्थानीय निकाय हो । माटो सुहाउँदो विकास, बाटो सुहाउँदो शहर । यो कुरा नेपालका अन्य सबै पालिकाहरूले खै हेरेर सिकेका ? ‘काम नगर्नेलाई त केही गर्न सकिन्न तर काम गर्छु भन्नेलाई हामीले अवसरहरू दिएका छौं ।’ ताप्लेजुङ जिल्लाका सिरिजङ्गा गाउँपालिका अध्यक्षले भनेछन् ।

अहिले गाउँमै रोजगारी दिन सक्ने जनप्रतिनिधिहरूलाई जनताले नमन गर्दछन् । ‘गाउँमै रोजगार ः गर्वको आधार’ हरेक वर्ष एकजनालाई एमबीबीएस अध्ययनको छात्रवृत्ति, हरेक वर्ष आठजनालाई पशु र कृषि अध्ययनमा छात्रवृत्ति, साना योजनामा मेसिन हैन नागरिक रोजगार, ढाकाका कपडा बनाउन अनुदान, उत्पादनबाट विद्यालयमा पोशाक र झोला । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाका ९ स्थानीय तहमध्येको एक हो सिरिजङ्गा गाउँपालिका, यस गाउँपालिकाबाट यो कुरा अन्यले पनि सिक्नुप-यो । काठमाडौँ महानगरका पिता बालेनले एकाएक सडकपेटीमा पसल थाप्नेहरूलाई लखेटे ।

उनले माग्नेहरूलाई महानगरमा माग्न निषेध गरे । पछि–पछि उनले धेरै काम गर्दै जानेछन् । उनी स्वतन्त्र हुन् । स्वतन्त्रले कसैलाई सोधिरहनुपर्दैन । स्वतन्त्रले कुनै पार्टीमा बैठक राखिरहनु पनि पर्दैन । असल भए त बेसै भयो तर अराजक भयो भने स्वतन्त्र फेरि जनताका मनमा चिल्चिलाउन थाल्छन् । बिझाउन थाल्छन् । तिनीहरूको फ्लेभर मन नपर्न सक्छ । भनाइ छ, ‘मन नपर्ने मानिसको काखी गन्हाउँछ ।’
‘केपी ओलीलाई धारे हात लगाएर सत्तामा पुगेका प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले पूरै बिचौलिया राज गरेर बदला लिइरहेका छन् ।

यो राजनीतिक बदला होइन । यो अपराध हो । यसको बदला जनताले लिनेछन् । विधिविधान कुल्चेर गरिने काम सबै अपराध हुन् ।’ पत्रकार नारायण अमृत अहिलेको अवस्थालाई जिब्रो नचपाईकन सटिक विश्लेषण गर्दै भन्छन् । देशैभरिका ७५३ वटै पालिकाहरूले आफ्नो पालिकामा के–के उत्पादन हुन्छन्, आफूलाई कुन–कुन क्षेत्रका विषय विशेषज्ञहरू चाहिएका छन्, तिनीहरूको व्यवस्थापन चुस्त–दुरुस्त ढङ्गले गरेर आफ्नो पूरै टिमलाई विश्वासमा लिई पाँचबर्से भिजन, मिसन र गोल सेट गर्नुपर्छ ।

नागरिकहरूले अनुभूति गरिसके कि अबका दिनमा प्रदेशको कुनै कामै रहेनछ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले समेत ‘प्रदेश आवश्यक नरहेकाले स्थानीय तहलाई शक्तिसम्पन्न बनाऊँ’ भनेछन् । बिस्तारी–बिस्तारी नेताहरूका घैँटामा समेत घाम लाग्न थालेको छ ।अहिलेका स्थानीय सरकारले गर्ने भनेको शिक्षा, स्वास्थ्य, कृषि, यातायात र स–साना पूर्वाधार विकासमा लगानी नै हो । नागरिकहरूको नजिकै भएका यस्ता सरकारहरू देखिने, छोइने र अनुभूति गरिनेसमेत भएकाले जनताले धेरै आशा राखेका हुन् ।

गत असारको १५ गते यो लेखकसमेत केही व्यक्तिहरूका साथ गाउँतिरको एउटा सानो कार्यक्रममा सरिक भएको थियो । जाँदा बाटो ठीकठाक भए पनि फर्कंदा त्यस समयमा परेको पानीले पहिरो गएर गाडीहरू जाम भएका थिए । हामी फर्कन हतारमा थियौं । पहुँच हुनेहरूले त्यहीँबाट नगरपालिकाका मेयरलाई फोन गरे तर मेयर सो दिन असार १५ मा नगरपालिकाले आयोजना गर्ने उनकै गाउँको रोपाइँ उत्सवमा गएका रहेछन् ।

उनले त्यहीँबाट नगरपालिकाका कर्मचारीहरूलाई फोन गरे । आधा घन्टामा आउँछ भनेर आश्वासन दिइएको डोजर ४ घन्टा बितिसक्दासमेत आएन । निराश भएर केही ठूला गाडीहरूले बाटोमा जम्मा भएको लेदो पहिरोकै बीचबाट गाडी चलाउने साहस गरे । करिब ५–७ वटा हेभी गाडीहरूले बाटोको हिलो केही छ्यालब्याल पारिदिएपछि अनि लाइट गाडीहरूसमेत पार भए । बल्ल हाम्रो यात्रा सदरमुकामसम्म आउन सफल भयो ।

यसरी जनताले अहिलेका मेयर र उपमेयरहरूलाई आफूलाई दुःख, गाह्रो–साँघुरो पर्दाका अवस्थामा अभिभावक भनेर बुझेका छन् । यो अवस्थालाई जुन–जुन मेयरहरूले फास्ट दिमाग लगाएर बुझ्छन् तिनीहरूले गर्ने सानै कामबाट उनीहरू वाहवाह भएका समाचारहरू पढ्न पाइन्छन् । स्थानीय तहका लागि यो स्वर्णकाल हो । पहिलो कालमा बनेका पूर्वाधारहरुमा टेकेर ‘काम चुपचाप गर: हल्ला कामले नै गर्छ ।’ अहिले यो भनाइ जताततै व्याप्त हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्