विम्बल्डन च्याम्पियनलाई खुसी मनाउन सिकाउनुपर्ने



लन्डन (एजेन्सी) । 

विम्बल्डन महिला सिंगल्सतर्फ नयाँ च्याम्पियन बनेकी एलेना रिबाकिनाले जितमा कसरी खुसी मनाउने थाहा नभएको बताएकी छन् । कजाकस्तानकी यी खेलाडीले उपाधि दाबेदारी ट्युनिसियाकी ओन्स जेबेउरलाई स्तब्ध तुल्याएकी हुन् ।

पहिलो सेट ३–६ ले गुमाएपछि रिबाकिनाले पुनरागमन गर्दै पछिका दुई सेट समान ६–२ ले जितेकी थिइन् । उनी काजाकस्तानको तर्फबाट ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने पहिलो खेलाडीसमेत बनिन् ।२३ वर्षीया रिबाकिनाले उपाधि जितेपछि साधारण शैलीमा हात उठाएर खुसीयाली मनाएकी थिइन् । फाइनलमा पराजित जेबेउरले पछि बताइन् कि ठूला उपाधि जित्दा कसरी खुसीयाली मनाउनुपर्छ भन्ने बारेमा उनले सिक्नुपर्ने भनेर ठट्टा गरेकी थिइन् ।

रिबाकिनाले बताइन्—‘एक दिन तपाईंहरूले मबाट ठूलो प्रतिक्रिया पाउनुहुनेछ तर, दुर्भाग्य आज होइन । मलाई थाहा थिएन के गर्ने, मैले स्पिच दिन रुने पनि सोचेकी थिए, तर मैले आफुलाई सम्हाले । म सायद, कोठामा एक्लै हुँदा रुनेछु कि थाहा छैन ।रुसको राजधानी मस्कोमा जन्मेकी रिबाकिनाले सन् २०१८ देखि कजाकस्तानको लागि प्रतिनिधित्व गरिरहेकी छन् ।

अल इंग्ल्यान्ड क्लबले रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा खेल्न अनुमति दिएको छैन । रूसले युक्रेनमाथि आक्रमण गरेदेखि ती रूसका खेलाडीलाई प्रायः जसो प्रतियोगितामा खेल्न प्रतिबन्ध गरिएको छ । बेलारुसले रुसलाई समर्थन गरेको हुँदा ती देशका खेलाडी पनि प्रतिबन्धमा परेका हुन् । शनिबार भएको फाइनल खेलमा काजाकस्तान टेनिस महासंघका अध्यक्ष पनि रिबाकिनालाई हौसला बढाउन खेल हेर्न आएका थिए ।

यस्तै, कजाकस्तानका राष्ट्रपतिले उनलाई सामाजिक संजालमार्फत् बढाइदिएका थिए । जबकि, रुसको टेनिस महासंघका अध्यक्ष शामील तार्पास्चेभले भने यो उपलब्धि रुसको रहेको जनाए । उनले रुसको एक मिडियामा बताए—यो धेरै राम्रो छ, स्याबास रिबाकिना, हामीले विम्बल्डन जित्यौँ ।रिबाकिनाले रुसी टेनिस महासंघको दाबीलाई अस्वीकार गर्दै बताइन्—मेरो तर्फबाट भन्ने हो भने मैले काजकस्तानलाई प्रतिनिधित्व गरिरहेकी छु । म कहाँ जन्मेकी भनेर छनोट गर्दिनँ । जनताले मलाई विश्वास गरेका छन्, कजाकस्तानले मलाई धेरै सहयोग गरेको छ । खेलमा पनि मलाई धेरैले समर्थन गरेका थिए । मैले देशको झण्डाहरू पनि देखेकी थिएँ ।

को हुन् रिबाकिना

रिबाकिनाको बाल्यकालमा जिम्नास्ट र आईस स्केटरमा चासो रहेको थियो । व्यावसायिक रूपमा उनी सफल हुन नसक्ने आधार उनको ६ फुटको उचाइ थियो । उनको बुबाले उनलाई टेनिस खेल्न प्रोत्साहन गरिरहेका थिए । उनले त्यसमा ध्यान दिएकी थिइनन् । उनले विद्यालय छाडेपछि आर्थिक अवस्था कमजोर भएको हुँदा कलेजमा पढ्न पनि पाएनन् । तर, अमेरिकास्थित धेरै जसो विश्वविद्यालयबाट उनलाई प्रस्ताव पनि आएको थियो । उनले कुनै पनि प्रस्ताव स्वीकार गरेनन् ।

यसपछि कजाकस्तान टेनिस महासंघ उनलाई आर्थिक मद्दत गर्न अघि बढ्यो । यसले उनलाई कजाकस्तानबाट टेनिस खेल्न अवसर जु¥यो । यसैले, पनि उनले सन् २०१८ देखि जन्मस्थल छाडेर कर्मथलो कजाकस्तानको लागि खेल्दै आएकी छन् । उनले पहिलो डब्ल्यूटीए उपाधि सन् २०१९ मा बुकारेस्टमा जितेकी थिइन् । सन् २०२० मा उनले पाँच प्रतियोगिता खेलेकोमा चारमा फाइनल पुगेकी थिइन् ।

रिबाकिना शीर्ष २० मा पुग्ने पहिलो काजाक महिला सिंगल्स खेलाडी पनि हुन् । उनी गत वर्ष फ्रेन्च ओपन क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । उनले चौथो चरणमा दिग्गज खेलाडी सेरेना विलियम्सलाई हराएकी थिइन् । यसको केही सातापछि उनी विम्बल्डनको चौथो चरणमा पुगिन् ।

जेबेउरको प्रतिक्रिया

फाइनलमा पराजित भए पनि जेबेउरले रिबाकिनासँग नेटमा केही कुराकानी गरेकी थिइन् । उनले बताइन्—उनी उपाधिको हकदार छिन् । उनी लजालु स्वभावकी पनि छिन् । उनले उनको व्यक्तित्व पनि देखाइनन् । मलाई लाग्यो उनको खेलले उनको लागि बोलेको छ । मलाई आवश्यक भएको छ कि उनलाई साँच्चिकै खुसी मनाउने शैली सिकाउनुपर्छ ।
पछिल्लो १० वर्षका महिला सिंगल्स विजेता
२०१२ सेरेना विलियम्स (अमेरिका)
२०१३ मारियन बार्टोली (फ्रान्स)
२०१४ पेट्रा केभिटोभा (चेक गणतन्त्र)
२०१५ सेरेना विलियम्स (अमेरिका)
२०१६ सेरेना विलियम्स (अमेरिका)
२०१७ गार्बिन मुगुरुजा (स्पेन)
२०१८ एन्जेलिक केर्बर (जर्मनी)
२०१९ सिमोना हालेप (रोमानिया)
२०२० कोभिडको कारण प्रतियोगिता रद्द
२०२१ एस्लीग बार्टी (अस्टे«लिया)
२०२२ एलेना रिबाकिना (कजाकस्तान)

प्रतिक्रिया दिनुहोस्