त्रिविको परीक्षामा लापरबाही, विषय एउटा प्रश्नपत्र अर्कै



विजय नेपाली, पोखरा । 

गण्डकी प्रदेश सभामा आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा प्रदेश सभा भवन बाहिर भने विद्यार्थीहरूले नाराबाजीसहित विरोध गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरामा रहेको आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका विद्यार्थीहरूले प्रदेश सभाअघि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले त्रिविले विद्यार्थीको मानसिकतासँग नराम्ररी खेल्दै आएको कारण आफूहरू न्याय माग्न घरको सरकारसमक्ष आएको बताएका छन् । वी.वी.ए. छैटौं सेमेस्टरको वार्षिक परीक्षा शुरू भएसँगै पहिलो दिनको परीक्षा दिने क्रममा समस्या आउँदा त्रिवि संगठनात्मक व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते सञ्चालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षामा समेत सोही गल्ती दोहोरिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । उनीहरूका अनुसार आन्तरिक परीक्षाकै हुबहु प्रश्नपत्र आएको थियो ।

त्रि.विको गम्भीर लापरबाहीका कारण विद्यार्थीको मिहिनेत खेर गएको उनीहरूको गुनासो छ । गण्डकी प्रदेश सभामा बैठक चलिरहँदा उनीहरूले विरोध गरेका हुन् । उनीहरूले त्रि.वि र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका हुन् ।

पृथ्वीनारायण क्याम्पसमा छैटौं सेमेस्टर पढ्दै गरेका प्रदिप पौडेलले त्रिविले विद्यार्थीको बौद्धिकतामाथि चरम शोषण गर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले असार २२ गते परीक्षा दिएर आएको बेलुका उक्त प्रश्नपत्र अर्कै क्याम्पसको हुबहु रहेको खुलेपछि पुनः परीक्षा हुने सूचना आएको सुनाउनुभयो । ‘सम्पूर्ण विद्यार्थीहरू आफ्नो तयारी गरेर परीक्षा दिएर घर आइसकेपछि त्रिविबाट एउटा सूचना आयो’, उहाँले भन्नुभयो– ‘सूचना पनि एकदम लापरबाही किसिमको थियो । के भनियोभन्दा त्यो प्रश्नपत्र पहिला नै काठमाडौंकै कुनै एक क्याम्पसको प्रि–सेमेस्टरको हुबहु रहेछ ।’

जनप्रिय छैटौं सेमेस्टरमा अध्ययन गर्दै गरेका विदान अधिकारीले अब त्रिविले भनेअनुसार आफूहरू परीक्षा नदिने बताउनुभयो । पटकपटक गल्ती गर्ने र त्यसको भागिदार विद्यार्थी नहुने उहाँको भनाइ छ ।‘हाम्रो शुरूको दिन अर्गनाइजेसन बिहेवियर (संगठनात्मक व्यवहार) विषयको परीक्षा थियो त्यो परीक्षा दिएर आइसकेपछि त्यो प्रश्न काठमाडौंको मोर्डन नेपाल क्याम्पसको पि–बोर्ड प्रश्नपत्रसँग मिल्न गएछ । अनि त्यो थाहा पाएको पछि हो ।

त्यो परीक्षा रद्ध भयो र १ गतेलाई मिति तोकिएको थियो’, उहाँले थप्नुभयो– ‘२५ गते हाम्रो पोलिटिक्सको (राजनीति) को परीक्षा थियो । त्यो परीक्षामा चाहिँ समाजशास्त्रको प्रश्न आयो ।’ त्यसको एक घण्टापछि अर्को प्रश्नपत्र आएको र उक्त प्रश्नपत्र पनि शंकरदेव क्याम्पसको प्रि–बोर्डको हुबहु भएको कारण रद्ध भएको उहाँले बताउनुभयो ।

‘हाम्रो माग भनेको हामीले शुरूका दिन जुन ३ घण्टा परीक्षा दिएका छौं त्यसका लागि जति मिहिनेत गरेका छौं अब हामी त्यो परीक्षा दिँदैनौं पुनः परीक्षा भनिएको छ त्यो रद्ध हुन प-यो । हिजो जुन गल्ती भयो त्यसको छानविन होस् र दोषीलाई कारबाही गरियोस्’ –उहाँले भन्नुभयो ।पोखरामा त्रि.विको २ आङ्गिक क्याम्पस रहेको छ । जनप्रियमा ६४ जनाको सिट रहेकोमा करिब ५९ जना अध्ययनरत रहेका छन् भने पीएन क्याम्पसमा ९९ जनाको सिट रहेको छ जसमध्ये करिब ९० जना विद्यार्थी पीएनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्