७ आयुर्वेद चिकित्सक सम्मानित



काठमाडौं ।

नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवसको अवसरमा शनिबार सात जना आयुर्वेद चिकित्सकहरूलाई सम्मान गरियो ।

सम्मानित हुनेहरूमा आयुर्वेद क्षेत्रका डा. चन्द्रराज सपकोटा, डा.कादम्बरी आचार्य, डा. मायादेवी गौतम, डा. रामचन्द्र अधिकारी, डा. बाबुराजा अमात्य, डा. रामचन्द्र पाण्डे र डा. सुरज कर्मचार्य हुनुहुन्थ्यो । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा आयुर्वेदलाई स्वास्थ्य योजनामा प्राथमिकता साथ राखिनुपर्ने आवश्यकता राष्ट्रिय योजना आयोगले महसुस गरेको भन्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शंकर प्रसादले अबको दशक आयुर्वेदको दशक रहेकोले यसको विकास र विस्तारमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद चिकित्सकहरूले ‘नसर्ने रोगमा आयुर्वेद चिकित्सा’ शीर्षकको वैज्ञानिक सत्रमा आ–आफ्ना शोधपत्रहरू प्रस्तुति गरेका थिए । डा. विनोद घिमिरेले ‘नसर्ने रोगमा थेरापिटिक योग र आयुर्वेदको एकीकृत प्रभाव’ र डा. अमित मान जोशीले ‘हाइपोथाइरोडमा जडीबुटी तथा खनिज औषधिको प्रभाव’ शीर्षक शोधपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त वैज्ञानिक सत्रमा आयुर्वेद विज्ञ र चिकित्सकहरूले आयुर्वेदका विभिन्न चिकित्सा विधिहरूले नसर्ने रोगको चिकित्साका लागि महत्वपूर्ण भूमिका निभाउन सक्ने धारणा राखेका थिए ।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्याम बाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूको वृद्धि विकास, आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवद्र्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले आयुर्वेद औषधिको गुणस्तरका विषयमा सरोकारवालाले चासो नराखेको गुनासो गर्दै आयुर्वेद निकायहरूलाई आयुर्वेद औषधिको नियमकारी भूमिका ऐनमा व्याख्या गरेअनुसार कार्य गर्ने वातावरण बनाइदिन स्वास्थ्यमन्त्री र सरोकारवाला सम्पूर्ण निकायहरूलाई अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्