झाडापखाला र रुघाखोकीका बिरामी बढे



तनहुँ । 

दमौली अस्पतालमा झाडापखाला र रुघाखोकीका बिरामी बढेका छन् । केही दिन यतादेखि झाडापखाला र रुघाखोकीका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

अहिले दैनिक २ सय २० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिनुभयो । ‘रुघाखोकी, ज्वरो, झाडापखालाका २ सय २० भन्दा बढी बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्’ –उहाँले भन्नुभयो । झाडापखाला र रुघाखोकीकै प्रकोप भने नभएको उहाँले प्रस्ट्याउनुभयो ।

सुगर, प्रेसर, हाड जोर्नी, आँखा र दाँतका बिरामीसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । संक्रमणका कारण झाडापखाला र रुघाखोकी लाग्ने गरेको पाइएको उहाँले बताउनुभयो । ‘इमर्जेन्सीमा समेत ३० जना भन्दा बढी बिरामी उपचारमा रहेका छन्’ –उहाँले भन्नुभयो । अस्पतालका सबै शय्याहरू बिरामीले भरिएको उहाँले बताउनुभयो । यसअघि यस अस्पतालमा १५० को हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गर्थे ।

असारको पहिलो सातादेखि संक्रमणजन्य बिरामीको संख्या बढेको हो ।अस्पतालमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिकालगायत लमजुङको मध्यनेपाल नगरपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको डा.ढकाल बताउनुहुन्छ ।

बिरामीहरूलाई सफासुग्घर भएर बस्न, बासी सडेगलेका खानेकुरा नखान, उमालेको पानी पिउन, साबुनपानीले राम्रोसँग हातमुख धुन, स्वास्थ्य सल्लाह दिँदै आएको चिकित्सकहरू बताउँछन् । बिरामीको अवस्था हेरेर सिकिस्त भए थप उपचारका लागि अन्यत्र रिफरसमेत गर्ने गरिएको डा. ढकालले बताउनुभयो । आँखा परीक्षण, दाँत, प्रसूति सेवा, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा अस्पतालले नै प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्