निर्वाचनमा अन्तरघात गर्नेमाथि कारबाही गर्न माओवादीको समिति गठन



काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्र्तघात गर्नेमाथि कारबाही गर्न समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले जित्ने ठाउँमा पनि आफ्नै पार्टीबाटै असहयोग भएको निष्कर्ष निकाल्दै माओवादीले छानबिन गरेर कारबाही अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । प्रवक्ता महराले भन्नुभयो– ‘समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहनुभएको छ । केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेर उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थायी कमिटी बैठकले छानबिन समित गठन गरेको हो ।’

गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो । मधेशमा यसअघि बलियो देखिएको माओवादी यसपटकको निर्वाचनमा मधेशका नेताहरूले अन्तर्घात गरेकोले पराजित हुनुपरेको रिपोर्टिङको आधारमा सत्य तथ्य अध्ययन गर्न समिति गठन गर्ने निष्कर्षमा माओवादी पुगेको हो ।

यसै गरी माओवादीले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुनेछ । उहाँको अनुसार साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र भदौ ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको छ ।

माओवादीले निर्वाचनलाई लक्षित गर्दै प्रदेश समन्वय समिति गठन गरिएको छ । पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । ययो समितिमा पार्टीका सबै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले जानकारी दिनुभयो ।यसैबीच पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ ।

बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनीहरूले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने छन् । नयाँ नेतृत्व चयनका क्रममा शुरू भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।केन्द्रीय समिति उपाध्यक्षसमेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएपछि विवाद थप चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्