नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा वृक्षारोपण


काठमाडौं।

नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा नेपाल एपीएफ स्कूल कीर्तिपुर परिषरमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, अम्वा, सिरिस, कपुर र असारे फूल गरी ५३ वटा विरुवा रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वातावरण संरक्षण तथा सम्वर्धन कार्यमा सो संघले देखाएको अग्रसरताप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यहरुमा सो संघको सक्रिय सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले यस्ता बृक्षारोपण कार्यक्रमले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने बताउँदै
आगामी दिनमा समेत यस्ता सामाजिक र वातावरणमैत्री कार्यक्रमका लागि सो नगरपालिकाको साथ र सहयोग रहिरहने उल्लेख गरे ।

स्वागत मन्तव्यको क्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले वातावरण संरक्षण कार्यमा हामी सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

सो बृक्षारोपण कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय किशोर कुमार लामा र सिंह बहादुर श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र उक्त स्कूलका शिक्षक, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपालले कल्याण्कारी सेवा केन्द्र मार्फत काठमाडौंको कीर्तिपुर, सप्तरीको शम्भुनाथ नगरपालिका र बाँकेको कोहलपुरमा एपीएफ स्कूलमार्फत आवासीय सुविधासहित वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरीकर्मचारीहरुका सन्ततीहरु तथा सर्वसाधारण नागरिकका जेहेन्दार
बालबालिकाहरुलाई समेत उच्च स्तरीय शिक्षा प्रदान गर्दै आईरहेकोे छ ।