रसुवामा अपराध घट्दै प्रहरीको सक्रिय बढ्यो 



रसुवा  । 

चालू आर्थिक वर्षमा रसुवा प्रहरीले गरेका कामबाट ३० प्रतिशतले आपराधिक घटना न्यूनीकरण भएको छ। रसुवाको सुरक्षा अवस्था सुदृढ भएका कारण भवितव्य बाहेक अन्य घटना न्यूनीकरण हुँदै गएको प्रहरी तथ्याङ्कले देखाएको हो ।

जिल्ला प्रहरी प्रवक्ता  विष्णु प्रदीप बत्स्यालका अनुसार  नेपाल प्रहरीले सुरक्षा गस्तीलाई तीव्रता दिएको  , सुरक्षाका सवालमा समुदाय माझ थप जनचेतना, शङ्कास्पद व्यक्तिको समयमै पहिचान र अवैध गतिविधिको निगरानीमा तीव्रता दिइरहेका कारण गत विगतको तुलनामा यो वर्ष  आपराधिक क्रियाकलाप ३० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको हो।

चालू वर्षमा कर्तव्य ज्यान अन्तरगत एक वटा मात्र मुद्दा दायर भएको छ।  १६ जना भवितव्य एवं  चार जना सवारी दुर्घटनाबाट निधन भएको प्रहरी तथ्याङ्कले देखाएको छ। गत वर्ष सवारी दुर्घटनाका कारण ७१ जनाको ज्यान गएको बताइएको छ।

बहुविवाह गर्ने गत वर्ष पाँच जना थिए भने यो वर्ष शून्य रहेको छ। जबरजस्ती करणी मुद्दामा दुई, ठगी अभियोगका चार जनालाई मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। गत आर्थिक वर्ष ०७७/७८ मा  विविध प्रकारका ५९ वटा मुद्दा दायर भएकोमा  चालू आवमा भने ४१ मात्र मुद्दा जिल्ला सरकारी वकिल मार्फत अदालत समक्ष दायर भएको प्रहरीले स्पष्ट पारेको छ।

 फैसला कार्यान्वयन अन्तरगत  अदालतले तोकेको ७३ हजार जरिवाना असुली कार्यमा सहयोग पु-याउनुको साथै अदालतले दुई वर्ष  सम्म कैदको फैसला सुनाई फरार अभियुक्तलाई  नियन्त्रणमा लिई प्रहरीले अदालत मार्फत कारागार बुझाएको छ। गत विगतको भन्दा नेपाल प्रहरीको जनशक्ति थप हुँदै गएको,  कुनै पनि घटना घट्दा साथ  घटना स्थलमा  प्रहरी छिटो परिचालित हुने गरेको छ।

शान्ति सुरक्षा मजबुत पार्दै आपराधिक क्रियाकलाप क्रमशः न्यूनीकरण गर्दै लान आफ्ना मातहतका अधिकृत तथा जवानहरूले गरेको मिहेनत प्रति उच्च  सम्मान गर्दै जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दले कुनै पनि आपराधिक  क्रियाकलाप हुन लागेमा वा भएमा तुरुन्त प्रहरीलाई खबर गरी सुरक्षा कार्य थप मजबुत पार्ने कार्यमा रसुवालीका सबै नागरिकबाट सहयोग पाउनेमा आफू आशावादी भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्