कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं ।

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते बनाएका थिए । २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा अलिको पत्नीको मृत्यु भएको थियो ।

यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलालाई सामूहिक बलात्कार गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय सुनाएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।अदालतले सजाय सुनाएपछि फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्