सेनाद्धारा सञ्चालित कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाई सुरु

0
Shares

लमजुङ।

लमजुङको सदरमुकाम बेसीशहरमा नेपाली सेनाले स्थापना गरेको कृषि विज्ञान संस्थानमा चालु शैक्षिक सत्रबाट स्नातक तहको पढाई सुरु भएको छ । बेसीशहर नगरपालिका २, बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाई सुरु भएको हो ।

सैनिक र गैर सैनिकहरुका लागि कृषि तथा भेटेरीनरी सम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । स्नातक तहको पढाई शुरु गर्नका लागि सेनाले गत वर्ष साउनमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसले आवश्यक परिक्रया पूरा भएसँगैयही असार १६ गतेबाट औपचारिक रुपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा.श्याम सुन्दर शर्माले बताउनुभयो ।
उहाँका अनुसार हाल नेपाली सेना परिवार तर्फ २३ जना र सिभिल तर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

नेपाली सेनाले सैनिक कल्याणकारी कोष अन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाई हुने गरी कृषि संस्थान शुरुवात गरेको हो । सो क्याम्पसमा नेपाली सेना परिवारतर्फका २४ र गैरसैनिकतर्फ २४ जना गरी प्रतिवर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन् ।

नेपाली सेनाले सञ्चालन गरेको उक्त क्याम्पसमा देशको जुनसुकै भागबाट पनि सैनिक, भूपू सैनिकका छोराछोरी र गैर सैनिकलाई पनि अध्ययनको अवसर मिल्ने सेनाले जनाएको छ ।

क्याम्पस सञ्चालन सँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यवसायीक कृषि उत्पादन पनि शुरु गरेको जनाएको छ ।

सेनाले पठनपाठनका निम्ती भौतिक संरचना, प्रयोगशाला छात्राबास निर्माण गर्नुको साथै गाई पालन, बाख्रा पालन, बँगुर पालन, कुखुरा पालन, फलफूल तथा तरकारी खेतीको व्यवसायीक उत्पादन समेत गरेको छ ।

यसअघि सैनिक, पूर्व सैनिक र गैर सैनिकहरुलाई कृषि तथा भेटेरीनरी प्राविधिक सम्वन्धी १८ महिने शिक्षण तथा छोटो अवधीका तालिम दिँदै आएको सेनाले कृषि सम्वन्धी दक्ष जनशक्ती उत्पादनमा जोड दिँदै स्नातक तहको पढाई शुरु गरेको जनाएको छ ।