प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री

0
Shares

काठमाडौँ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताउनु भएको छ ।
नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदान्नती भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई,’ गृहमनत्री खाणले भन्नुभयो, ‘नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ठ जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कायसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस् गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिष्पर्धा गर्न पदोन्नती भएका अधिकृतहरूलाई निर्देशन दिनुभयो ।
नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनु भयो । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्य चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन् ।

यसअघि असार ८ गते नायब प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका १७ जना प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्हबाट सुशोभित हुनुभएको थियो ।

गृहमन्त्रीले नयाँ नायब प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिवहरू टेकबहादुर केसी, फणिन्द्रमणि पोखरेललगायतको सहभागिता थियो ।