उद्योगपतिहरू विद्युतीय बोइलरको प्रयोगमा उत्सुक, विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन माग



काठमाडौं । परम्परागत बोइलरको प्रयोग गर्दै आएका नेपालका बालाजु औद्योगिक क्षेत्रलगायतका औद्योगिक क्षेत्रका उद्योगपतिहरूले विद्युत् आपूति सहज र भरपर्दो भएको खण्डमा विद्युतीय बोइलरको प्रयोग गर्ने बताएका छन् ।

सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)ले शुक्रबार बालाजु औद्योगिक क्षेत्रमा भुस, डिजेल, कोइलालगायतको प्रयोग गरी परम्परागत रूपमा चलाउँदै आएको बोइलरलाई विद्युतीय प्रणालीमा लैजाने सम्बन्धमा आयोजना गरेको छलफलमा सहभागी उद्योगपतिहरूले परम्परागत तरिकाबाट भन्दा विद्युतबाट बोइलर चलाउँदा खर्चमा भारी कटौती भई आम्दानीमा वुद्धि हुनुको साथै वातावरण प्रदुषण पनि रोकिने भएकोले आफूहरू विद्युतबाट बोइलर चलाउन तयार रहेको बताएका थिए ।

 काठमाडौं, भक्तपुर, हेटौंडा, पोखरा र नेपालगञ्जका उद्योगपतिहरूका साथै नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरूको सहभागिता रहेको उक्त छलफलमा उद्योगपतिहरू विद्युतबाट चलाउने बोइलरमा जान आफूहरू तयार रहेको तर त्यसको लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति सहज र भरपर्दो बनाउनुपर्ने माग राखेका थिए ।

छलफलमा २२० केभी प्रसारण लाईन योजनाका प्रमुख ईन्जिनियर थर्क बहादुर थापाले प्राधिकरणले हाई भोल्टेजको विश्वनीयता बढाउँदै लगेको जानकारी दिँदै आगामी २–४ वर्ष विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । उनले यसै आर्थिक वर्षभित्र ७ वटा स्टेशनहरू थप्ने जानकारी दिँदै भने– ‘कथंकदाचित प्रसारण लाईनको कुनै टावर ढलिहालेमा पनि विद्युत् आपूर्तिमा अवरोध नआउने किसिमले वितरण लाईनहरू निर्माण हुँदैछन् ।’

कार्यक्रममा थम्र्याक्स लिमिटेडका प्रतिनिधि संजय तुल्स्यानले कार्यपत्र प्रस्तुत गर्दै डिजेलबाट चल्ने बोइलरभन्दा विद्युतबाट चल्ने बोइलरको प्रयोगले खर्चमा ५० प्रतिशत कटौती हुने बताए । उनले प्राधिकरणले कुनै पनि सहुलियत नदिएको अहिलेको अवस्थामा पनि विद्युतीय बोइलरको प्रयोग डिजेल बोइलरभन्दा दोब्बर फाइदाजनक भएको बताए । विद्युतीय बोइलरको शुरुको जडान खर्च बढी भए तापनि त्यसको खर्च एक वर्षमै उठ्ने पनि उनले दावी गरे । उनले विद्युतको प्रयोगले परम्परागत रूपमा प्रयोग हुँदै आएको कोइला, डिजेल, भुसलगायतको प्रयोगले हुने वायु प्रदुषण नियन्त्रण हुनुका साथै बोइलर चलाउन लाग्ने जनशक्तिमा पनि भारी कटौती हुने बताए । हाल नेपालभरी रहेको बोइलर सञ्चालनको लागि २ हजारभन्दा बढी भारतीय जनशक्तिको प्रयोग भैरहेको छ ।

कार्यक्रममा सहभागी उद्योगपतिहरूले विद्युतीय बोइलरको जडान खर्च सानो क्षमताका लागि मात्रै पनि डेढ करोड रुपियाँभन्दा बढी लाग्ने भएकोले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नै ठूलो क्षमताको बोइलर जडान गरिदिएर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई उचित शुल्क लिएर उपलब्ध गराउने व्यवस्था गरिदिए उद्योगीहरूलाई पूँजी जुटाउने सकसबाट राहत पुग्ने धारणा राखेका थिए । उद्योगपतिहरूको उक्त धारणालाई सकारात्मक रुपमा लिंदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक सुवास सिटौलाले उद्योगपतिहरूको उक्त चासो सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले परम्परागत बोइलर विस्थापित गरी विद्युतीय बोइलर प्रयोगका लागि सीनले प्राधिकरण र उद्योगपतिहरूबीच समन्वयकर्ताको भूमिका मात्र होइन, आवश्यक परे प्राविधिक सहयोग पनि उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्