मुगुमा पाठयपुस्तक अझै पुगेन

0
Shares

मुगु ।

शैक्षिक सत्र शुरू भएको लामो समय बित्दा पनि मुगुको खत्याड गाउँपालिका र सोरू गाउँपालिकामा अझै पाठ्यपुस्तक पुगेको छैन । पढाइ शुरू भएको डेढ महिना बित्दासम्म पाठ्यपुस्तक नपुग्दा ७८ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

जेठको पहिलो सातामै पुग्नुपर्ने पाठ्यपुस्तक असारको दोस्रो सातासम्म पनि विद्यार्थीको हातमा पुगेको छैन । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा पाठ्यपुस्तक जेठको अन्तिम साता पुगेको थियो । यद्यपि, खत्याड र सोरूका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् ।

विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपर्दा पठनपाठनमा असर परेको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक सञ्ज्यालले बताउनुभयो । शिक्षकसँग पनि किताब नहुँदा अध्यापन गराउन झनै सास्ती बेहोर्नुपरेको उनको भनाइ छ ।

खत्याड गाउँपालिकाअन्तर्गतका ४० वटा विद्यालयको पाठ्यपुस्तक खरिद तथा ढुवानीको जिम्मा लिएको ए–वान फेन्सी कलेक्सन एन्ड रारा सप्लायर्सका नरेन्द्र रोकायालाई पाठ्यपुस्तक ल्याउन पटक–पटक ताकेता गरेकाले पाठ्यपुस्तक यही साताभित्र आइपुग्ने खत्याड गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बुढाले बताउनुभयो ।

त्यस्तै, खत्याडका ४० र सोरूका ३८ सामुदायिक विद्यालयमा अबको एक साताभित्र पाठ्यपुस्तक पु¥याउन माग गर्दै नेपाल विद्यार्थी संघ मुगुले ध्यानाकर्षण गराएको छ । सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र पठाइएको नेविसंघ मुगुका संयोजक सोवीन्द्रबहादुर मल्लले बताउनुभयो । अबको एक साताभित्र दुवै गाउँपालिकाका सम्पूर्ण विद्यालयमा पाठ्यपुस्तक नपु¥याए कडा कदम चाल्न बाध्य हुने उहाँले चेतावनी समेत दिनुभएको छ ।