काठमाडौं ।
घरमा टायल र मार्बलको प्रयोगले घरको समृद्धि र सम्पन्नता बढाउँछ । घरलाई सुन्दर र सुरक्षित राख्न टायल र मार्बलको प्रयोग आवश्यक हुन्छ । खासगरी, भान्सा, बरन्डा, बाथरुम, भ-याङ आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलको विशेष योगदान हुन्छ ।
टायल र मार्बलका आ–आफ्नै विशेषता छन् । कतिलाई कहाँ टायल र कता मार्बलको प्रयोग गर्ने जानकारी हुन्न । कतिलाई त यो कसरी बन्छ, कस्तो वस्तु हो, त्यो पनि जानकारी हुँदैन । सम्बन्धित विज्ञका अनुसार खासगरी सेरामिक माटोलाई निश्चित तापक्रममा पकाएर टायल बनाइन्छ । काठमाडौंलगायत नेपालका विभिन्न भागमा सेरामिक पाइन्छ । यसबाहेक सिमेन्टबाट पनि टायल बन्छ । तर, सजावटका लागि माटोको टायल नै बढी प्रयोग गरिन्छ ।
माटोको गुणस्तरअनुसार टायलको मूल्य निर्धारण हुन्छ । कारखानामा विभिन्न रङ र डिजाइन प्रयोग गरी टायल बनाइन्छ । कम्पनीले छोटो समयमा टायलको डिजाइन फेरबदल गरिरहन्छन् । वस्तुतः टायल उद्योगमा बन्छ । माटोबाट बनेकाले कोरिने वा फुट्ने जोखिम धेरै हुन्छ । घर बनाउने क्रममा पाँच प्रतिशत टायल स्टकमा राख्नुपर्छ । निर्माण क्रममा भत्काउनु परे फेर्न सजिलो हुन्छ । यसरी अलिकति बढी मात्रामा टायल नराखे अरू नै डिजाइनको लगाउनुपर्ने हुन्छ । यसले गर्दा टायल लगाएको क्षेत्र नसुहाउँदो र टालेजस्तो देखिन्छ ।
पानी वा तरल पदार्थको दाग नबस्ने हुँदा टायल सफा गर्न सजिलो हुन्छ । मार्बलको तुलनामा टायल लगाउन र मर्मत गर्न खर्च कम लाग्छ । एकपटक टायल राखेपछि १०-१५ वर्ष ढुक्क हुन सकिन्छ ।भ-याङ, प्यासेजमा पनि टायल नलगाउन विज्ञहरुको सुझाव छ । फर्निचर र अन्य सामान ओसारपसार गर्दा फुट्ने जोखिम धेरै हुन्छ । त्यसैले, यस्ता ठाउँमा मार्बल लगाउन उचित हुन्छ । आवश्यकता अनुसार सबै स्थानमा टायल लगाउन सकिन्छ ।
तर, सुरक्षाको पक्ष ख्याल गर्नु आवश्यक हुन्छ ।घर सजावटका लागि भने मार्बलको प्रयोग हुन्छ । मार्बल एक किसिमको ढुंगा हो । ढुंगाखानीबाट कच्चा पदार्थ ल्याएर कारखानामा विभिन्न रङका मार्बल बनाइन्छ । ललितपुर, धादिङ, मकवानपुरलगायत जिल्लामा लाइसेन्स प्राप्त मार्बल कम्पनी छन् ।मार्बल खर्चिलो सजावट सामग्रीमध्ये एक हो । किन्न महँगो त भइहाल्यो, यसलाई मिलाएर भुइँमा राख्न पनि धेरै समय लाग्छ । त्यस्तै, टायलको तुलनामा मार्बलमा सजिलै तरल पदार्थको दाग बस्छ । सफा गर्न पनि झन्झटिलो हुन्छ । कोतरिने, फुट्ने सम्भावना कम हुन्छ तर टुटफुट भएमा मर्मत खर्च पनि बढी लाग्छ । मार्बल महँगो हुन्छ । सानो टुक्रा मात्रै किन्न मिल्दैन ।
एक पटक मार्बल लगाइसकेपछि २५ वर्षसम्म ढुक्क हुने विज्ञहरू बताउँछन् । घरको भ-याङ, प्यासेज, किचन स्ल्याब, बरन्डा आकर्षक देखाउन मार्बलको प्रयोग बढी हुन्छ । तर, घरको कुनै निश्चित सतह बाह्रै महिना चिसो रहन्छ भने त्यस्तो स्थानमा मार्बल नलगाउनु ठीक हुन्छ । गर्मी हुने कोठामा वा बाहिरी भागमा मार्बल लगाउँदा कोठा चिसो राख्न मद्दत पुग्छ ।
मार्बलको सतह टलकदार र चिल्लो हुन्छ ।
तर, यसको चिल्लोपन दुर्घटनाको कारण पनि हुनसक्छ ।प्राकृतिक खानीबाटै उत्पादन हुने ग्रेनाइटलाई पनि घर सजाउन प्रयोग गरिन्छ । मार्बल र ग्रेनाइटलाई एकै प्रकृतिको सजावट सामग्री मानिन्छ । यो ढुंगाकै एक प्रकार हो । यसको बनावट, रङ र मोटाइ भने फरक हुन्छ । मार्बलको तुलनामा ग्रेनाइट अझै बलियो र महँगो हुन्छ ।बनावटकै कारण मार्बलभन्दा ग्रेनाइट महँगो पर्छ । बुझ्ने भाषामा भन्दा यी दुई निर्माण सामग्रीलाई एक नम्बर, दुई नम्बर इँटासँग तुलना गर्न सकिन्छ । मार्बल लगाएपछि घोटेर चिल्लो बनाउनुपर्छ । ग्रेनाइटलाई पर्दैन । रङको आधारमा ग्रेनाइट महँगो र सस्तो पर्ने हुन्छ । सामान्यतया मार्बलको मूल्य प्रति वर्गफुट २ सय २० रुपियाँबाट शुरू हुन्छ ।
सामान्य डिजाइन गरिएका स्थानीय उत्पादनका टायल प्रति वर्गफुट ६० रुपियाँदेखि अधिक मूल्यमा पाइन्छ । यसमा आफूले चाहेअनुसार आकार पनि बनाउन सकिन्छ । त्यस्तै आकर्षक बुट्टा दिएर कारखानामा बनेका, आयातित टायल १ सय २० रुपियाँ प्रति वर्गफुटदेखि सुरू हुन्छ । टायलको तुलनामा मार्बल महँगो हुन्छ । चार फुट चौडाइ र छ फुट लम्बाइदेखि यसको बिक्री सुरू हुन्छ । आवश्यक आकारमा काटेर लगाउन भने सकिन्छ । मार्बलको बुट्टा एकनास हुने भएकाले भुइँमा टुक्रा जोडेजस्तो देखिँदैन । तर, बुट्टादार टायलमा टुक्रिएको भाग अर्को टायलको बुट्टासँग नमिल्न पनि सक्छ ।
प्रतिक्रिया