पनौतीमा पर्यटकलाई सूचना दिन बसपार्कमा काउन्टर आवश्यक



काभ्रे ।

काभ्रे जिल्लाको ऐतिहासिक र धार्मिक नगर पनौतीमा आउने पर्यटहरुलाई नगरको सम्पूर्ण वडा र क्षेत्रको बारेमा सुरुवाती सूचना बसपार्कमा पर्यटन सूचना केन्द्र राख्नुपर्ने आवश्यकता रहेको औँल्याइएको छ ।

नेपालमै पहिलो पटक महिलाहरुद्धारा सञ्चालित होमस्टे ‘पनौती सामुदायिक होमस्टे’ का अध्यक्ष शिला अमात्यले पनौती नगरमा बढी भन्दा बढी पर्यटक भित्राउन आफ्नो संस्थाको तर्फबाट नगर प्रमुख रामशरण भण्डारीलाई सुझाव दिएको बताउँदै भन्नुभयो– स्वदेशी हुन वा विदेशी पाहुना पनौती बसपार्क आइपुग्ने बित्तिकै सबैभन्दा पहिले नगरमा रहेको १२ वटै वडाको बारेमा जानकारी दिने एउटा काउन्टर हुनुपर्छ ।

बसपार्कमा ‘टुरिस्ट इन्फरमेसन सेन्टर’ को व्यवस्था गर्न सकिए पनौती आउने पर्यटकलाई घुम्न र हेर्न कुन वडामा  के छ भनेर जानकारी दिन पाइने र नगरमा आएका पर्यटकहरूलाई पनि थप योजना बनाउन सहज हुने भन्दै अध्यक्ष अमात्य भन्नुहुन्छ– पर्यटक बढाउन नगरले प्रचारप्रसारलाई पनि बढवा दिनु पर्छ ।

पनौती सामुदायिक होमस्टेले अहिले २० घरमा विदेशी पर्यटकको लागि सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । यो २० घरमा ४० वटा कोठा रहेको छ भने ८० जना क्षमताको छ ।

पनौती नगरले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिएको भन्दै नगरप्रमुख रामशरण भण्डारी भन्नुहुन्छ– ऐतिहासिक, धार्मिक, संस्कृति, पुरातात्त्विक मठमन्दिर, पाटी, ढुङ्गे धारा जस्ता स्थलहरूको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी  धार्मिक तथा मनोरमा पर्यटकीय नगरका रूपमा विकसित गरी आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिइनेछ ।

पनौती सामुदायिक होमस्टे सञ्चालकहरूले  पनौतीमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्न  धुलिखेल–पनौती हाइकिङ रुट खोल्न पर्ने, विभिन्न स्थानमा सेल्फि पार्क निर्माण गर्नु पर्ने, बजार भित्र रोज गल्ली निर्माण गर्नुपर्ने लगायतका सुझावहरू दिएका छन् ।

बनेपाबाट आउने पुण्यमाता खोलाको सरसफाइमा पनि ध्यान दिनु पर्ने भन्दै पर्यटक व्यवसायीहरुले अहिले पनौती घुम्न आएका विदेशी पाहुनाहरूलाई पनौतीको मठमन्दिर लगायत पुरै पनौती घुमेको एकसय रुपैयाभन्दा बढी लिन नहुने बताएका छन् । साथै पनौती नगरपालिकाको आधिकारिक फेसबुक पेजमा समेत पर्यटन र पर्यटक सम्बन्धी जानकारीमूलक सामाग्रीहरू नियमित राख्नु पर्ने उनीहरूको धारणा छ ।

यस्तो छ पर्यटन सम्बन्धी पनौती नगरको नीति

ऐतिहासिक पनौती बजार, इन्द्रेश्वोर मन्दिर तथा घाट क्षेत्रलाई सौन्दर्यकरण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रमका लागि सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न आवश्यक पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइनेछ ।

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न आवश्यक कार्ययोजना बनाई लाँकुरी भञ्ज्याङ्ग–पनौती–बल्थली साईकिङ्ग मार्गको प्रचार प्रसार समेत गर्ने व्यवस्था मिलाइनेछ

आन्तरिक एवं बाह्य पर्यटनको प्रर्वद्धनार्थ पनौती ११ स्थित लड्कु खोलाको विभिन्न स्थानमा साना ठुला बाधहरु निर्माण गरी सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाइनेछ ।

पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्रको व्यवस्था गरिनेछ ।

पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउन पर्यटन मैत्री शौचालय  (स्मार्ट शौचालय)को व्यवस्था गरिनेछ ।

पर्यटन विकास सम्बन्धी गुरुयोजना तर्जुमा गरिनेछ ।

पर्यटन गन्तव्यको प्रकाशन, प्रसारणको र पर्यटक स्थलको प्रबन्ध गरिनेछ ।

पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाईकिङ्ग रुटको पहिचान र विकास गरिनेछ ।

पर्यापर्यटनमा जोड दिइनेछ ।

हाईकिङ्ग ट्रेलको विकास विस्तार र प्रचार गरिनेछ ।

साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धन गरिनेछ ।

प्याराग्लाइडिङ, रक क्लाईम्बिङ्ग, साईक्लिङ्ग जस्ता इभेन्ट हरु सञ्चालन गरिनेछ ।

होमस्टे प्रवर्द्धन नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ ।

पर्यटक स्तरका होटल व्यवसायीहरु बीच समन्वय कायम गरिनेछ ।

सोभिनियर सेन्टरको विकास गरिनेछ ।

स्थानीय मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यस्ता सांस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडी आवश्यक कार्य गर्ने व्यवस्था मिलाइनेछ ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक कार्य गरिनेछ । व्यवस्थित पिकनिक स्थलहरू निर्माण गरी पर्यटक आकर्षण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्