विवादका कारण फलेवासमा नगरसभा सम्पन्न हुन सकेन



पर्वत। 

पर्वतका सात स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरे पनि फलेबास नगरपालिकामा भने नगरसभा सम्पन्न हुन सकेको छैन । फलेबास नगरपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा(एमाले)का प्रतिनिधिका बिचमा सहमति कायम नहुँदा नगर सभा नै बस्न नसकेको हो ।

नगरपालिकाका मेयर गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयहरू सहितको प्रस्ताव पेस नगरेको आरोप नेकपा(एमाले)का प्रतिनिधिले लगाएका छन् भने नेपाली काँग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेवासमा नगर बस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन् ।

शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधीहरुले लिखित रुपमै सबै नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए । एमालेका प्रतिनिधीहरुले कार्यपालिका वैठक र सभा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विषयगत समितिको बैठक राख्ने, राजस्वका दरहरुका बारेमा निर्णय गर्नुपर्ने, . नगर सभामा पेस गर्ने प्रस्तावहरु नगर कार्यपालिकाले पास गर्नुपर्नेमा मेयरले कार्यपालिका बैठकमा पेस नै नगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्वीकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल  नै नभएको आरोप लगाएका छन् ।

एमालेको तर्फबाट कार्यपालिकाका सदस्य नेत्रबहादुर बिश्वकर्माले मेयरले ऐन विपरीत चोरबाटोबाट नगर सभा सम्पन्न गर्न खोजेका कारण विरोध गर्नुपरेको बताउनुभयो । ‘कार्यपालिकामा नीति तथा कार्यक्रमलाई घनिभूत रुपमा छलफल गर्नुपर्ने र सुझाव सहित तयार पार्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘डायरीमा लेखेर दुई चार बुँदा सुनाउने तर कार्यपालिका सदस्यलाई पढ्न समेत दिइएन।’

फलेबास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले भने प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु कार्यपालिकामा प्रस्तुत गरेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा फलेबास नगरपालिकाले नगर बस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्यहरु बाहिर गएको दाबी गर्नुभयो । ‘एमालेबाट निर्वाचित केही कार्यपालिका सदस्यले नगर बस सञ्चालन र कर छुटको कुरालाई असहमति राखेर बाहिर जानुभएको हो।’ उहाँले भन्नुभयो ‘मेयर शावले सहमतिका लागि आउनुस् भन्दा पनि बहुमतको दम्भ देखाएर हिँड्नुभयो ।’

फलेवासमा मेयर र उपमेयर गठबन्धनले जितेको छ भने कार्यपालिका र नगर सभामा एमालेको बहुमत छ । एमालेको समर्थन बिना कार्यपालिका र नगर सभाले निर्णय गर्न सक्दैन । एमालेका तर्फबाट कार्यपालिका सदस्य विकले मेयरले कानुन अनुसार अब सहमतिका आधारमा नगर सभा बोलाउनुपर्ने बताउनुभयो । प्रवक्ता तिवारीले भने बहुमतले जहिले सहमतिका लागि आउँछन त्यही समयमा नगर सभा हुने जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्