भाषा, संस्कृति र सम्पदाको नीतिले निरन्तरता नपाएमा सडकमा उत्रिने पूर्व मेयर शाक्यको उद्घोष



काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष गरेका छन् । लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रुपमा शाक्यले बोलेको यो नै पहिलो पटक हो ।

यस अघिको कार्यकालमा स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने नीति अन्तर्गत झिगु येँ देय् म्हसिके (काठमाडौं चिनौं) पाठयक्रम नेपाल भाषामा कक्षा १ देखि ८ सम्म सामुदायिक र संस्थागत विद्यालयमा पढाउन शुरु गरिएको थियो ।

त्यसको लागि शिक्षक, शिक्षिका पनि महानगरपालिकाले व्यवस्था गरेको थियो । त्यस्तै परम्परागत बाजागाजाका गुरुलाई वार्षिक ३० हजार रुपैयाँ प्रदान गर्ने, मातृभाषाको पत्रकारिताको विकास, मूर्त र अमूर्त संस्कृति र सम्पदा जोगाउने जस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मेयर शाक्यले भने। ‘मेरो कार्यकालमा नीतिगत रुपमा लागू गरिएका राम्रा विषयहरुलाई खारेज गरेर नभई भएगरेका राम्रा कामहरुलाई टेकेर अहिलेको जनप्रतिनिधिले अझ धेरै राम्रा काम गर्न सकोस् ।’

आफू्र पनि सानैदेखि भाषिक समानता, सांस्कृतिक समानताको लागि सडकमा आवाज उठाउने कार्यकता रहेको बताउँदै उनले भने ‘ पदमा पुग्ने बितिक्कै आफूले राज्यसँग जुन जुन कुरा माग गर्दै आएको थिए, त्यही विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न आफूले कुनै कसर बाँकी राखिनँ ।’

स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने बन्दोबस्तो उपत्यकाबासीले दशकौंदेखि संघर्ष र आन्दोलन मार्फत अभिव्यक्ति गर्दै आएको भावनालाई उच्च सम्मान गर्दै लागू गरिएको बताउँदै पूर्व मेयर शाक्यले भने, ‘त्यसलाई सकिन्छ भने अझ समृद्ध गरेर निरन्तरता दिइयोस् । त्यस्ता धेरै कामहरु छन् । जसले निरन्तरता पाउनै पर्दछ ।’

आफ्नो कार्यकालमा जनताका भावना, माग र एजेण्डालाई सम्बोधन गर्न आफ्नो बलबुत्ताले भ्याएसम्म अधिकत्तम प्रयास गरेको उल्लेख गर्दै अहिले पनि जनताको हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

‘जनताको सेवा गर्न पद हुनु र नहुने तात्विक अन्तर राख्दैन । पद भनेको अस्थायी हो । हिजो निर्णय गर्ने ठाउँमा थिए । अहिले निर्णय कार्यान्वयनको लागि सहजीकरण गर्ने, परि आएमा रचनात्मक दबाब दिन सक्छु ।’

प्रतिक्रिया दिनुहोस्