विपद् व्यवस्थापनमा तयारी कामपा



 काठमाडौं । 

वर्षायाम शुरू भएसँगै विपद्जन्य घटना रोक्न काठमाडौं महानगरपालिकाले आवश्यक तयारी गरेको छ । विशेष गरी राजधानीभित्र बग्ने नदी थुनिएर मुख्य सडक र आवासीय क्षेत्र डुबानमा पर्नेलगायतका सम्भावित घटनाबाट जोगिन कामपाले आवश्यक साधनसहित तयारी थालेको छ ।

कामपा विपद् व्यवस्थापन विभागले विपद् रोक्न सबै आवश्यक सामग्री भण्डारण गरी तयारी अवस्थामा राखेको छ । महानगरले विपद्जन्य घटनाबाट जोगिन र उद्धार गर्न करिब ५० लाख रुपियाँ बराबरको सामग्री खरिद गरिसकेको जनाएको छ ।कामपा विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरसँग ४८ किसिमका सामग्रीको भण्डारण छ । उहाँका अनुसार राजधानीभित्र बग्ने वागमती, विष्णुमती, धोबीखोला, रुद्रमती, टुकुचालगायत नदीमा वर्षातमा भेलबाढी आउँदा वर्षेनी लाखौं रुपियाँबराबरको क्षति हुने गरेको छ । यस्ता क्षतिबाट रोक्न विभिन्न सामग्री व्यवस्थापन गरेको जनाएको छ ।

विभागीय प्रमुख श्रेष्ठले बाढी वा अन्य विपद्जन्य घटना भए त्यसबाट उद्धार गर्न ट्युब, स्ट्रेचर, भ¥याङ, टर्चलाइट, टोप, रूख काट्ने कटर, डोरी, त्रिपाल, पिग, साबेल, बाल्टीलगायतका सामग्री खरिद गरी भण्डारण गरेको जानकारी दिनुभयो । विपद्का घटना भए कामपा प्रहरी उद्धारमा खटिने उहाँको भनाइ छ ।कामपा प्रहरी प्रमुख धनपति सापकोटाले कामपा प्रहरी सेवामा रहेका १ सय ७३ प्रहरीलाई उद्धारका सबै तालिम दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रा प्रहरीहरू आगलागी, बाढीपहिरोलगायत कुनै पनि विपद्जन्य घटना भए उद्धार गर्न पोख्त छन् ।’

विभागले दमकल कार्यालयले विपद् आउँदा नियन्त्रण गर्न प्रयोग हुने सवारीसाधन खरिद गरिसकेको जनाएको छ । बाँकी केही सामग्री खरिद गर्ने प्रक्रियामा रहेको विभागीय प्रमुख श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार महानगरसँग ५ वटा पम्प, ल्याडर, दमकललगायत सवारीसाधनले उद्धार गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।श्रेष्ठले राजधानीमा मात्र नभई उपत्यका र राजधानीसँग जोडिएका जिल्लामा विपद्जन्य घटना भएमा त्यसलाई नियन्त्रण गर्न सक्ने गरी सामग्री खरिद गरी भण्डारण गरेको जानकारी दिनुभयो । महानगरले वागदरबारस्थित महानगर प्रहरी कार्यालय, बबरमहलस्थित विभाग, न्युरोड र रामहिटीस्थित दमकलको सब स्टेसनमा सामग्री भण्डारण गरी राखिएको छ ।

त्यसबाहेक सबै वडाले विपद् व्यवस्थापन समिति गठन गरी सो समितिमार्फत् सामग्री खरिद गरी भण्डारण गरेको छ । कामपा मेयर बालेन्द्र साहको अध्यक्षतामा विपद् व्यवस्थापन समिति रहने व्यवस्था छ । सो समितिले सबै वडामा समिति गठन गरी तालिम दिने र सामग्री खरिद गरी भण्डारण गर्ने गरेका छन् ।कामपाले भर्खरै जनप्रतिनिधि निर्वाचित भएका कारण हालसम्म वडा स्तरीय समिति गठन गरेको छैन । विभागीय प्रमुख श्रेष्ठले वडामा समिति गठन भएलगत्तै सामग्री खरिद गरी भण्डारण गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो ।

राजधानीमा विपद्जन्य घटना भए वडा कार्यालयको संयोजनमा महानगर प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गरी उद्धार गर्ने तयारी गरेको छ ।जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम विशेष बुलेटिनमा वागमती प्रदेश र राजधानीमा सामान्यदेखि अविरल वर्षा हुन सक्ने अनुमान गरेको छ । नदी उकास क्षेत्रमा ठूल्ठूला भवन बनेपछि ती क्षेत्रमा अविरल वर्षा भए बाढी आउन सक्ने सम्भावना रहेको छ ।

करिब एक साताअघि राजधानीमा परेको अविरल वर्षाले धोबीखोला करिडोर क्षेत्रमा धनजनको क्षति भएको थियो । खोलाको चर्चेको क्षेत्रमा ठूल्ठूला भवन निर्माण गरेको कारण विपद्का राजधानीमा बढी क्षति हुने गरेको छ ।

सूचना पाउनै हम्मे

पछिल्लो समय महानगरपालिकाबाट सूचना नपाएर पत्रकार हैरान छन् । महानगरमा न प्रवक्ता छ, न त सूचना अधिकारी नै ।

मेयर बालेन्द्र साहका सचिवालयले उहाँसँग कुरा गर्न खोजे पनि कुनै जवाफ नै दिँदैन । विपद् व्यवस्थापनको संयोजकसमेत रहेका साहसँग मंगलबार सो विषयमा जानकारी लिन खोज्दा सचिवालयका एक सदस्यले फोन उठाएर मेयरलाई एकैछिनपछि कुरा गराउँछु भन्ने जवाफ दिन्छन् । तर, त्यो जवाफको उत्तर आउँदै आउँदैन ।

मेयरको सचिवालयमा को–को सदस्य छन्, महानगरका कर्मचारीलाई नै जानकारी छैन । महानगरका एक कर्मचारीले भने– ‘हामी त हैरान भइसक्यौं कोसँग के कुरा गर्ने । हाम्रो समस्या कसरी सुनाउने ।’ त्यतिकै हैरान भएका छन् पत्रकार पनि । अधिकांश पत्रकारको गुनासो छ– ‘मेयरको विषयमा हामीले कसरी सूचना पाउने । फेसबुक वा प्रवक्ताबाट । मेयरको अधिकांश निर्णय फेसबुकमार्फत् हुन्छ ।’

कानुनतः फेसबुकबाट आएका सूचनालाई कतिको आधिकारिकता मान्ने प्रश्न उठ्ने गरेको छ । तैपनि मेयर साहले पत्रकारलाई जानकारी दिनुभन्दा पहिला आफ्नो निर्णय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने गर्नुभएको छ ।
नियमअनुसार हरेक कार्यालयमा सूचना अधिकारी वा प्रवक्ता हुन्छन् ।

तर, महानगरमा आधिकारिक रूपमा न सूचना अधिकारी नियुक्ति भएका छन् । न त प्रवक्ता नै । अघिल्ला मेयरका सूचना अधिकारी र प्रवक्ताबाट पत्रकारले केही सूचना लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्