राजधानीले कांग्रेस नेतृत्वको अवज्ञा गरेकै हो !

निर्वाचन समीक्षा:कांग्रेस दृष्टि

0
Shares

एकर्फी तर्क–वितर्क दिँदै नेता रिझाएर फाइदा लुट्ने वर्गले दिनहँु गठबन्धनको लाभ देखाउँदै ‘कांग्रेसमा सांगठनिक सुधार’ भनेर दैनिक अलाके पनि यथार्थमा काठमाडौं जिल्लाले ठूलो सांगठनिक घाटा ब्यहोर्नुपरेको तथ्य छर्लङ्ग छ । यस घाटालाई लुकाएर नेता रिझाउन गलत सन्देश प्रचार गर्नाले केही व्यक्तिले फाइदा लेलान्, पार्टीले सैद्धान्तिक र सांगठानिक नोक्सान ब्यहोर्दै छ । यस तथ्यलाई पार्टीका विवेकशील नेताले बुझ्न जरुरी छ । केही तथ्य हेरौं:

१. काठमाडौंका कांग्रेसीले गठबन्धन चाहेका थिएनन् । केही नेताको स्वार्थका कारण गठबन्धन लादियो । मतदाताले देखाएरै अवज्ञा गरे । परिणामस्वरूप पार्टीको उम्मेदवारै नभएको काठमाडौं महानगर, चन्दागिरि, नागार्जुन नगर पालिकामा उपमेयरमा र शंखरापुरको मेयरमा रूख चिन्हमा मतदान गरे । १ लाखभन्दा बढी मत जनताले उम्मेदवार नभएको रुख चिन्हमा हालेर गठबन्धनको विरोध जनाए । परिणामस्वरूप उपमेयर जित्न सकिने अबसरबाट कांग्रेस वञ्चित भयो । १ लाख मत खेरजानु पार्टीको लागि ठूलो घाटा हो । यो सोचनीय कुरा छ । काठमाडौंका जनता नेताका अनुकूलले मतदान गर्दैनन् । गठबन्धनको नाममा जबरजस्ती उम्मेदवार खोसेर कांग्रेसले ४ वटा उपमेयर एमालेलाई चढायो । ५ वर्ष कांग्रेसी उपमेयरले जनतासँग हातेमालो गर्ने अवसर कांग्रेसस्वयंले गुमायो ।

२. काठमाडौंमा जनता र कांग्रेसका कार्यकर्ताले नरुचाएको गठबन्धन लादिनाले रुष्ट भएका मतदाता मतदानमा सरिक भएनन् जसको परिणाम न्यून मतदान भयो र कांग्रेसले जित्नसक्ने वडा पनि गुमायो । कम प्रतिशत मतदानले जनताको नेतृत्व प्रतिको वितृष्णा पनि उजागर गरेको छ ।

३. एमालेको पक्षमा जनता रुष्ट रहेर परिवर्तन खोजिरहेको अवस्थामा गठबन्धनको आडमा निर्वाचन जित्न सकिने आँकलनले सही उम्मेदवारलाई टिकट वितरण नगर्दा जित्न सकिने महामहानगरमा कांग्रेसले हार खानुप¥यो । वडाहरूमा पनि पराजय भोग्नुप¥यो ।
४.गठबन्धन अपाच्य भएका कारण कांग्रेसमा आएका जनलहरलाई रोकेर नकारात्मक तबरले एमाले पार्टीलाई फाइदा पु-याएको छ ।

५.कांग्रेसले उम्मेदवारी नदिनाको परिणाम शंकरापुरमा राप्रपाले मेयर जित्यो ।

६. सबभन्दा बडी मतदाता भएको कामपा ३२ कोटेश्वर क्षेत्रमा वडा अध्यक्ष छाड्नाले कांग्रेसको उपस्थिति निकै पातलो रह्यो भने मत प्रतिशत कम खस्यो, कांग्रेस समर्थक मतदाताको उदासीनताको कारण थियो त्यो ।
गठबन्धनकै कारण पार्टीप्रति वितृष्णा फैलिएर कतिपय सक्रिय र निष्ठावान कांग्रेसीहरू सदस्यता परित्याग गर्ने, राजनीति छाड्ने अवस्थामा पनि पुगे । पार्टीको लागि यो दुखद् पक्ष हो ।

अहिलेको राजनीतिमा नेतृत्व गर्नेभन्दा जनता अगाडि छन् । त्यसैले राजनिति पनि जनताको चाहनालाई व्यवस्थित गरिदिनेतर्फ लक्षित हुनु आवश्यक छ । पार्टीको परम्परागत रबैयाले जनचाहना प्रतिकूलका उम्मेदवार दिने र जनचाहनाविपरीत निर्णयहरू गरिन्छ भने त्यसको अवज्ञालाई पार्टी अनुशासनले रोक्न सक्दैन । आगामी संसदीय निर्वाचनमा कांग्रेसलगायत सबै पार्टीले परम्परागत सोच बदलेर उम्मेदवार छनोट गर्नु आवश्यक छ ।
(दबाडी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, काठमाडौं क्षेत्र नम्बर ९ हुनुहुन्छ)