अवरुद्ध कालीगण्डकी करिडोर सडक खुल्यो

0
Shares

रामपुर ।

पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सोमबार अपराह्नबाट सञ्चालनमा आएको छ ।

करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको हो । करिब सात घण्टाको समय लगाएर पहिरो हटाइएपछि यस सडकखण्ड भएर गुड्ने सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए । यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडाँै, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडाँै, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए ।