लमजुङका महिला अधिकार कर्मीहरुद्धारा प्रशासनलाई ध्यानाकर्षण

0
Shares

लमजुङ ।

लमजुङका महिला अधिकारकर्मीहरुले जिल्लामा महिला हिंसा तथा मानव बेचविखन सम्वन्धी घटनामा गम्भीर हुन सुरक्षा प्रशासनलाई आग्रह गरेका छन् । जिल्लामा पछिल्लो समय मानव बेचविखन, शरीर बन्धक, श्रम शोषण तथा जबरजस्ती करणीका घटनाहरु बढेको भन्दै त्यसतर्फ उच्च निगरानीका लागि प्रशासनको ध्यानाकर्षण गराएका हुन ।

जिल्लामा रहेका महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यलाई एक ज्ञापनपत्र बुझाउदै महिला हिंसा, मानव बेचविखन जस्ता गम्भीर प्रकृतिका अपराध नियन्त्रणका लागि प्रहरी प्रशासन थप सक्रिय हुनपर्ने माग गरेका हुन् । केहिसमय अघिमात्रै जिल्लाको बेसीशहर–१, उदिपुरमा भएको मानव बेचविखन सम्वन्धी घटनालाई जोड्दै उनीहरुले घटनाको विषयमा प्रहरीको कार्यशैली उदासिन भएको समेत आरोप लगाएका छन् ।

त्यसैगरी चार बर्षअघि सदरमुकाम बेसीशहरस्थित जनविकास मावि मा अध्यनरत दुई छात्रा बेपता पारीएको, तीन बर्षअघि दूधपोखरीमा भारतीय नागरीकद्धारा सेनामा भर्ति गराउने प्रलोभनमा नगद ठगी भागेको, एक युवतीलाई विवाहको नाटक गरी नेपाल भारतको सिमा सुनौलीमा अलपत्र पारी छोडेको कुरालाई समेत ज्ञापनपत्रमा उल्लेख गरीएको छ । जिल्लामा पटक पटक यस्ता जघन्य प्रकृतिका अपराधहरु भईरहदापनि हालसम्म कोहि कसैलाई कारवाहि नगर्नु प्रहरी प्रशासनको उदासिनता भएको ज्ञापन पत्रमा उल्लेख छ ।

जिल्लामा महिला हिँसा, मानव वेचविखन जस्ता घटनालाई न्युनिकरण गर्न शहर बजार सहित ग्रामिण क्षेत्रमा पनि उच्च निगरानी राख्नुपर्ने उनिहरुको माग छ । विशेष गरी जिल्लामा प्रवेश गर्ने नयाँ तथा शंकाष्पद व्यक्तीहरुमा विशेष निगरानी राख्नुपर्ने महिला अधिकारकर्मीहरुको माग रहेको छ ।

जिल्लामा क्रियाशिल महिला अधिकारकर्मीहरु अमृता घिमिरे असिम, कान्ता घिमिरे, रोजिना तामाङ, बसन्तमाया तामाङ, मदिना तामाङ, हसमाया तामाङ, विष्णु तामाङ, झरना पराजुली लगायतले समयुक्त रुपमा प्रजिअ बैद्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै प्रजिअ बैद्यले महिला हिंसा, मानव बेचविखन, जवरजस्ती करणी गम्भीर प्रकृतिका घटना भएकोले यस विषयमा प्रहरी प्रशासन उदासिन नहुने भन्दै यस्ता घटना अनुसन्धानका विषयमा गम्भीर भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्ता घटना न्युनिकरणका लागि प्रहरी प्रशासनको मात्रै सक्रियताले नहुने भन्दै प्रत्येक व्यक्तीले सहयोग गर्नुपर्ने प्रजिअ बैद्यको भनाई थियो ।