सत्ता नै सिद्धान्त


सत्ता घटक मध्येको एक नेकपा एकीकृत समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने दबाब बढेको छ । कांग्रेस सांसद तथा नेताहरूमध्ये कतिपयले पार्टीभित्रै त कतिपयले सार्वजनिक कार्यक्रममै मन्त्री फेरबदल हुने जनाएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीभित्र पनि सांसदहरूले दबाब दिइरहेको बताउनुभएको छ । त्यस्तै, सत्तारूढ दलका माओवादी पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने माओवादी सांसदको तर्क छ । माओवादी नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको खुलासा गर्नुभएको छ । समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि आफ्नोमा पनि दबाब भएको, कांग्रेस र जसपामा पनि दबाब बढेको उहाँले खुलासा गर्नुभएको समाचार छ ।

यसअघि नै जसपाले आफ्नो पार्टीभित्र ६ महिनाकै लागि भनेर सांसदलाई मन्त्री बनाएको जनाइसकेको छ । एकीकृत समाजवादीले मन्त्री फेर्दा अन्य सत्ताधारी दलमा पनि सोही श्रृंखला शुरु हुने भएका कारण प्रधानमन्त्री तथा नेका सभापति शेरबहादुर भने यस दबाबलाई टार्न चाहिरहनुभएको बुझिन्छ । सत्ताधारी सबै दलमा यस प्रकारको भावना सुशुप्त थियो, एकीकृत समाजवादीले त्यसको निकास दियो । यही जेठ २२ गते एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि अन्य दलमा पनि तरंग आएको हो ।

समय तोकेरै पठाएकाले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको एकीकृत समाजवादीका नेताहरूको तर्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीको निर्णय मान्ने औपचारिक प्रतिक्रिया दिनुभएको पनि थियो ।

यद्यपि उहाँहरु सबैले पद जोगाइदिन प्रधानमन्त्री देउवा र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत अनुरोध गर्नुभएको जानकारीमा आयो । यसैबीच जेठ २३ गते बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीको निर्णयका विषयमा छलफल भयो, ‘तत्कालका लागि’ नयाँ मन्त्रीको नियुक्ति रोकियो । बजेटमाथिको छलफललाई देखाएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन हालका लागि स्थगित गरिदिनुभयो । संसद्मा मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ दिनुपर्ने लगायतका कारण तत्काल मन्त्री परिवर्तन गर्न नहुने प्रधानमन्त्री देउवाको तर्क थियो । एकीकृत समाजवादीका नेताहरूले आफ्ना पार्टीको निर्णयमा अरू दलले चासो दिन नहुने भन्दै मन्त्री परिवर्तन हुने दाबी गर्दै आएका छन् ।

राम्रो सँग फुटबल खेलिरहेको खेलाडीलाई टिमको कप्तानले सामान्यतः फिर्ता बोलाउँदैन । तर बाहिर अन्य खेलाडीहरु छन् जो अझ बढी राम्रो खेल्नसक्छन्, उनीहरुलाई अवसर प्रदान गर्नुभने आवश्यक हुनसक्छ । यति एकीकृत समाजवादीले अझ योग्य सदस्यका लागि बहालवाला मन्त्रीलाई हटाउन खोजेको हो भने अन्यथा मान्नु आवश्यक छैन । तर बाहिर रहेका सदस्यले मन्त्री नबनाए पार्टी छोड्छु, मन्त्री बनाए यति–उति चन्दा दिन्छु भनेको हो र त्यसकै आधारमा फेरबदलको तयारी भएको हो भने सिद्धान्त नै सत्ता रहेछ भनेर बुझ्नुपने हुन्छ ।