नेप्से २९ खर्ब १७ अर्बमा खुम्चियो

0
Shares

काठमाडौं ।

गत साता नेप्से १ दशमलव ४७ प्रतिशत अर्थात् ३० दशमलव ५४ अंक घटेको थियो । त्यसभन्दा अघिल्लोे साता २०७८ दशमलव ७० बिन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेर बन्द भएको थियो ।

बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित सम्बोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा रहेको छ ।यसअघिको उच्चतम बिन्दु ३२२७ बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीले घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।

अबको तीन महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालु आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि सेयर बजारमा जेठ, असारलाई लगानीको सिजनको रूपमा लिने गरिन्थ्यो । तर, यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रूपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ ।

गत साता नेप्से घटे पनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औषत कारोबार रकम ६ दशमलव २८ प्रतिशत बढेर १ दशमलव ३२ अर्ब कारोबार हुँदा सातामा साढे ६ दशमलव ६० अर्ब बढीको सेयर कारोबार भएको छ ।नेप्से घटेपछि कुल बजार पूँजीकरण ४२ अर्ब रुपियाँले घटेर २९ खर्ब १७ अर्बमा झरेको छ । अघिल्लो साता कुल बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपियाँ रहेको थियो ।

गत साता नेप्सेमा ४ कम्पनीका २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पुँजीका ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पुँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर र सीवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।