चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद



सप्तरी  ।  महिलाहरूको आर्थिक क्रान्तिका लागि २०५० सालमा स्थाना गरिएको स्वेडेकले सप्तरीको महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग मात्र  गरेको छैन, आर्थिक क्रान्ति नै ल्याएको छ ।

सप्तरीको राजविराज-२ की ५० वर्षीया सरिता ठाकुर २०६३ मा १५ जनाको समूह बनाएर संस्थामा आबद्ध भइन् । अहिले उनको समूहमा ६३ जना महिला छन्। ठाकुर १०१ समूहको प्रमुख हुन् । उनीहरू समूहमा ऋण लगानी र असुली गर्ने काम गर्छन् ।

छोराछोरी पढाउन र घर बनाउनसमेत संस्थाले ऋण दिँदै आएको उनले बताइन् । उनले भनिन्, ‘संस्थाले असहाय र पीडित महिलालाई ऋण मात्र दिएको छैन, छोराछोरीलाई शिक्षा दिन आफ्ना परिवारलाई हरेक पक्षबाट व्यवस्थित गरेर परिवार सञ्चालन गर्न सिकाएको छ । अहिले सानो ऋण लिएर हामी महिलाहरू आर्थिक रूपमा सशक्त छौ,’ उनले भनिन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाकि ६० वर्षीया ज्ञानीदेवी सरदार संस्थाबाट थोरै ऋण लिएर लाखौंको मालिक भएकी छन्। उनले भनिन्,´जतिवेला हामीसँग कुनै विकल्प थिएन । धितो राख्ने केही थिएन । कसैले ऋण दिँदैन्थ्यो त्यतिबेला स्वडेकले हामीलाई विश्वास गरेर ऋण दियो र अहिले हामी समाजमा आफ्नै नामले परिचित छौँ,’ उनले भनिन् ।

राजविराज-८ की थलकुमारी मगर २०६१ सालमा संस्थामा आबद्ध भइन्। उनी १३ समूहको प्रमुख हुन् । उनले संस्थासँग चार हजार ऋण लिएर व्यवसाय सुरू गरिन्। अहिले छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहेकी छन् । त्यहीँ सानो ऋण लिएर गरेको मिहिनेतबाट अहिले तीन जिल्लामा घडेरी किनिसकेको मगरको भनाइ छ ।

उनले भनिन्,´राजविराजमा घर नै बनाइसके। श्रीमान बित्नुभएको दुई वर्ष भयो ।आर्थिक रूपमा कुनै समस्या छैन।अहिले आर्थिक रूपमा सबल छु । ऋण लिएर त्यसबाट आम्दानी हुने काम गर्नुपर्छ। कामै नगरी ऋण  अन्य काममा खर्चिनु हुँदैन। एकदिन अवश्य सफल भइन्छ ।’

संस्थामा अहिलेसम्म तीन लाख ३० हजार महिला जोडिएको र सबैलाई आर्थिक रूपमा सशक्त बनाउन प्रयास भइरहेको संस्थाका अध्यक्ष मिरा देवले बताइन् ।

प्रतिक्रिया दिनुहोस्