काभ्रे प्रहरीले गर्यो नागरिक सुनुवाई

दैनिक ५ हजार भन्दा धेरै ब्यक्तिहरु धुलिखेलमा आवतजावत गर्ने भएकाले हरेक ब्यक्तिले सुरक्षा महसुस गर्ने गरी कार्य गर्न प्रहरीलाई नगर प्रमुख ब्याञ्जुको अनुरोध



काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नागरिक सुनुवाई तथा सर्वसाधारणसँग अन्र्तक्रिया गरेको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका जनप्रतिनिधिहरु, स्थानीय तथा जिल्ला प्रहरी कार्यालय र मातहत निकायबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले समाजको महत्वपूर्ण शान्ति सुरक्षा भएकाले न्याय, सुब्यवस्था कायम गर्न पक्षधरता लिन नहुने बताउनु भयो । ‘अपराधलाई न्युनिकरण गर्न र अपराधीलाई कारवाही गर्न पक्षधरता लिनु हुँदैन’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रहरीले खेलेको भूमिकालाई थप सहजिकरण र समन्वय गरी अपराध मुक्त समाज निर्माण गर्नु पर्छ ।’ धुलिखेल नगरपालिकाले यस अघि पनि सिसी क्यामेरा जडान तथा हिरासतमा रहेकाहरुका लागि टेलिभजन उपलब्ध गराएको बताउँदै नगर प्रमुख ब्याञ्जुले नगर प्रहरीको समेत समन्वयमा सदरमुकाम धुलिखेललाई अझै शान्ति सुरक्षामा अब्बल बनाउन हातेमालो गर्ने बताउनु भयो । विश्वविद्यालय, अस्पताल, सदरमुका, होटल ब्यवसाय लगायतका कारण दैनिक ५ हजार भन्दा धेरै ब्यक्तिहरु धुलिखेलमा आवतजावत गर्ने भएकाले हरेक ब्यक्तिले सुरक्षा महसुस गर्ने गरी कार्य गर्न प्रहरीलाई अनुरोध गर्नु भयो ।

पूर्वाधार निर्माण जस्तै शान्ति सुरक्षा प्रमुख अंग रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । प्रहरीले गरिरहेका काममा थप प्रभावकारीता ल्याउन स्थानीय सरकार तत्पर रहेको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रणमा भएका प्रयास र अपराधका घटनामा भएका प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लाबासी नागरिकहरुलाई थप सुरक्षित बनाउन प्रहरीको सक्रियता बढाउन कुनै कसुर बाँकी नराख्ने उहाँले बताउनु भयो ।

 

समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेल नगरपालिकामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रमुख निराजन जंगमले नागरिकहरुका गुनासालाई सम्बोधन गर्दै प्रहरीले शान्ति सुरक्षा कायम राख्नु पर्ने बताउनु भएको थियो ।

सहभागिहरुले प्रहरी काम कारवाही, सडक दुर्घटना न्यूनिकरण, अबैध जुवा तास नियन्त्रण, घरेलु मदिरा बिक्री बितरण र सेवन, आत्महत्या न्यूनिकरणमा प्रहरीको भुमिका अझै बढाउनु पर्ने सुझाव दिएका थिए । चोरी लुटपाट, सडक बत्ती, घरेलु हिंसा न्यूनिकरण लगायतका विषय बस्तुमा उठेका गुनासोहरुको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सम्बोधन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्